माता दुर्गालाई बिदाइ गर्दै बंगाली समुदायकी महिलाहरूले खेलिन 'सिन्दूर'
झापा । माता दुर्गालाई बिदाइ गर्दै भद्रपुरका बंगाली समुदायकी महिलाहरूले पूजा स्थलमै सिन्दूर खेलेका छन् । भद्रपुर– ६ स्थित बंगाली युवा क्लबद्वारा आयोजित २४ औं सार्वजनिक दुर्गा पूजा समारोह स्थलमा विजयादशमीको साँझ माता दुर्गाको विशेष पूजा आराधना पश्चात् बंगाली समुदायका महिलाहरूले एक आपसमा खुसी साटासाट गर्दै सिन्दूर खेलेकी थिइन् ।
धार्मिक परम्परा अनुसार विजयादशमीका दिन रातो साडी लगाएर परिवारजनसहित बंगाली समुदायकी महिलाहरू पूजा स्थल जाने गरेका छन् । त्यहाँ पुगेर महिलाहरूले माता दुर्गाको निधारमा पहिला सिन्दूर लगाउने, त्यसपछि मिठाई चढाएर पूजा आराधना गरी मातासँग आशीर्वाद लिन्छन् । पूजा सकिएपछि महिलाहरूले एक अर्कोलाई सिन्दूर लगाएर नाचगान गर्दै माता दुर्गालाई खुसीका साथ बिदाइ गर्ने धार्मिक चलन छ ।
महिलाहरूले आफ्नो पति, छोराछोरीको दीर्घायुसँगै परिवारमा सधैँ खुसी, उमङ्ग छाओस् भन्ने कामनाका साथ सिन्दूर खेल्ने गरेको स्थानीय महिला चन्दा घोषले बताइन् ।

वर्षमा एक पटक महिलाहरू यसरी भेला भएर एक आपसमा सिन्दूर खेल्दा महिलाहरुबीच सामाजिक सद्भाव पनि कायम रहने उनले बताइन् ।
पूजा स्थलमा सिन्दूर खेली उनीहरू घर पुगेर आफू भन्दा ठुलालाई ढोक गर्ने र सानोलाई माया गरी मिठाइ खुवाउने धार्मिक चलन पनि छ । यता विजयादशमीसँगै पाँच दिनको पर्व सकिएपछि पण्डाल बनाएर भव्य रुपमा दुर्गाको पूजा गर्ने आयोजकहरूले मूर्ति विसर्जन गर्न थालिसकेको छ ।
बिहीबार गुरुवार भएकोले बंगाली युवा क्लबले शुक्रबार मूर्ति विसर्जन गर्ने क्लबका सदस्य निर्मल घोषले जानकारी दिए । यस वर्ष हात्तीमा आएका माता दुर्गा डुङ्गा (नाउँ)मा फर्किदैछ ।
