झापाका मत्स्यपालक किसानहरू संगठित, अध्यक्षमा होमप्रसाद सिटौला
झापा । व्यावसायिक रुपमा मत्स्यपालन गर्दै आएका झापाका मत्स्यपालक किसानहरू संगठित भएका छन् । शनिवार बिर्तामोड- ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभा हलमा भएको नेपाल मत्स्यपालन किसान संघ झापाको प्रथम अधिवेशनले इस्टर्न फीस फार्म बिर्तामोडका सञ्चालक होमप्रसाद सिटौलाको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा रमेश थापा कमल, सचिव सुशील राजवंशी बाह्रदशी , सहसचिव होमकुमार गुरुङ शिवसताक्षी र कोषाध्यक्षमा मोहन पायम कचनकवल रहेका छन् । त्यस्तै सदस्यहरूमा हरि मैनाली बिर्तामोड , लक्ष्मी सिवाकोटी बिर्तामोड , राजेश देवान बिर्तामोड , भीम योङहाङ हल्दिवारी , आइतराज लिम्बू बाह्रदशी , सुमन न्यौपाने बिर्तामोड , दीपक सुवेदी बाह्रदशी , मुरलीधर सिंह राजवंशी गौरीगञ्ज , राजु सापकोटा अर्जुनधारा, गंगाप्रसाद पौडेल हल्दिवारी, सुरेश तामाङ भद्रपुर र जयसिंह राजवंशी कचनकवल रहेका छन् । तीन वर्षे कार्यकालका लागि गठित १७ सदस्यीय समितिमा पछि चार जना थप गरिने जनाइएको छ । नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा भएको अधिवेशनको बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उद्घाटन गरेका थिए ।
सङ्ग्रौलाले माईपूर्वका आठ वटा पालिकाहरूले मरेका र फर्मालिन प्रयोग गरिएका भारतीय माछाको बिक्री वितरणमा प्रतिबन्ध लगाएको जनाउँदै त्यस काममा आउन सक्ने बाधा व्यवधान स्थानीय सरकारले व्यहोर्ने बताए । उनले भारतीय माछामाथि प्रतिबन्ध लगाएर माछामा आत्मनिर्भर बनाउन स्थानीय किसानहरूले उत्पादन बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका निवर्तमान नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले मत्स्यपालक किसानहरूको लागि संगठनको जरुरी रहेकोमा संगठित भइसकेपछि अब माछाको बजारीकरण, औषधी, दाना र प्राविधिकको व्यवस्थापन गरिनुपर्ने बताए ।
उनले दानाको लागि बिर्तामोडमा वायर हाउसको आवश्यकता रहेको बताए । हेभन पार्कका सञ्चालकसमेत रहेका सिवाकोटीले आफूले रु २५० मा थोक र ३०० मा खुद्रा मूल्यमा माछा बिक्री गरिरहेको बताउँदै माछाको मूल्यमा एकरूपता हुनुपर्ने बताए । कार्यक्रममा सहभागी मत्स्यपालक किसानहरूले पालिकाहरूले अस्वस्थकर भारतीय माछा प्रतिबन्ध लगाएकोमा खुसी व्यक्त गरेका थिए । लक्ष्मीप्रसाद सिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल मत्स्यपालन किसान संघका प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद सेडाईले गरेका थिए । अधिवेशनमा झापाका सबै नगरपालिका र गाउँपालिकाबाट ५० भन्दा बढी मत्स्यपालन किसानहरूको सहभागिता रहेको थियो । झापामा ३ सयभन्दा बढी मत्स्यपालन किसानहरू रहेका छन् । जिल्लामा करिब ७ सय विगाह क्षेत्रफलमा माछा पालन भइरहेको प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष सिवाकोटीले बताए ।