२०८३ बैशाख २० गते , आईतबार

कालीस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण हुने

sajilo news
झापा
२०७९ आश्विन ३० गते , आईतबार
कालीस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण हुने

कालिकापीठ कालीस्थानको १८ औं वार्षिक उत्सवको अवसर पारेर ११ दिवसीय बृहत् धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ ।

धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने बाषिक उत्सवको तयारीका लागि कालिकापीठमा छलफल सम्पन्न भएको छ ।

छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउँदै कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरूमध्ये स्कन्ध पुराण सबैभन्दा ठुलो रहेको चर्चा गर्दै सर्बजनहिताय, सर्बजनसुखाय एवं पीठमा अक्षयकोष वृद्धिको लक्ष्य राखेर पुराण एवं महारुद्राभिषेक महायज्ञ आयोजना गरिने बताए ।

अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीले  सनातन धर्मावलम्बीहरूमा धार्मिक कार्यमा सशक्त सहभागिता जनाउने विगतको  प्रचलन तुलनात्मक रूपमा घटेको बताउँदै भावी पुस्तालाई संस्कार र संस्कृति बुझाउनुपर्नेमा जोड दिइन । 

पश्चिममा मुलुकका नागरिकहरूले वैदिक धर्मग्रन्थबारे अध्ययन–अनुसन्धान गरिरहेको अवस्थामा पूर्वीय संस्कृति पुस्तान्तरण गर्नुपर्ने आवश्यकता उपमेयर पराजुलीले औँल्याइन् ।

पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेलले यज्ञले घर–परिवार, गाउँ, जिल्ला र राष्ट्र र वातावरणमा शुद्धता ल्याउने र पर्यावरणीय शुद्धता प्राप्त भए मानिसमा सदाचार उत्पन्न हुने धारणा राखे ।

छलफलमा अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष भीष्म मिश्रले निश्चित  लक्ष्य राखेर  गरिने यज्ञ सफल हुने बताउँदै  देवीको शक्तिपीठका रुपमा स्थापित कालिकापीठ तीर्थस्थलको व्यापक प्रचार –प्रसार गर्नुपर्नेमा जोड दिए ।

उक्त छलफलमा अर्जुनधारा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष  एवं नगरपालिकाका प्रवक्ता भूपेन्द्र न्यौपानेले कार्यक्रम सफल पार्न व्यापक प्रचारप्रसार  गर्नु आवश्यक रहेको बताउँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा शेखरनाथ अधिकारी, कर्णबहादुर तामाङ, खोम मिश्र, भानु निरौला, रूपनारायण भण्डारी, इन्दु पूर्वेली, तारा गिरी, गान्धारी मिश्र, रेणु बस्नेत, परशुराम कटुवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन उपाध्यक्ष डिल्लीराम दाहाल र सचिव भोला पोखरेलले संयुक्त रुपमा गरेका थिए । 

सम्बन्धित समाचार