समाजसेवी दिनबन्धुले साइकल दिएपछि छात्राहरू दंग
झापा । भद्रपुरका ११ जना विपन्न छात्रालाई साइकल वितरण गरिएको छ । छात्राहरूले विद्यालय आउजाउ गर्न साइकल पाएपछि दंग परेकी छिन् ।
समाजसेवी दिनबन्धु गोयलले आफ्नो जेठो दाजु महावीरप्रसाद गोयलकी धर्मपत्नी स्व। गौरीदेवी गोयलको स्मृतिमा विपन्न छात्राहरूलाई साइकल र विद्यालय पोसाक वितरण गरेका हुन् ।
भद्रपुर मारवाडी संघको आयोजनामा बुधवार संघ भवनमा आयोजित एक कार्यक्रमका बीच ११ जना छात्रालाई साइकल र विद्यालय पोसाक हस्तान्तरण गरिएको छ ।
साइकल पाउनेहरू भद्रपुर मावि र वीरेन्द्र माविमा कक्षा ११ र १२ मा अध्ययनरत सरिता कर्माकार, बबिता राजवंशी, फुलमुनि मर्डी, प्रितम उराउ, सृजना सदर र करुणा ऋषिदेव रहेकी छिन् ।
त्यस्तै वीरेन्द्र नमुना क्याम्पसमा स्नातहमा अध्ययनरत रोशनी र्मुर्मु, बाहा र्मुर्मु, जोसफिना खडिया, आशा खेरवार र मोती मालपाँडे रहेकी छिन् ।
मारवाडी संघ भद्रपुरका अध्यक्ष अजय साहेवालाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, भद्रपुर ७ नम्बर वडा अध्यक्ष अभिषेक ढुङ्गाना लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।