२०८३ बैशाख ३ गते , विहीबार

झापा– ३ मा सिटौला र लिङदेन चौथो पटक चुनावी मैदानमा

sajilo news
पार्थ मण्डल
२०७९ कार्तिक ३ गते , विहीबार
झापा– ३ मा सिटौला र लिङदेन चौथो पटक चुनावी मैदानमा

झापा । झापा क्षेत्र नम्बर ३ मा दुई शीर्ष नेताबीच चौथो पटक प्रतिष्ठाको लडाइ हुँदैछ ।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन आम निर्वाचनमा फेरि एक पटक आमनेसामने उभिएका छन् । 
सिटौला सातौँ पटक र लिङदेन चौथो पटक चुनावी मैदानमा होमिएका हुन् । दुवै शीर्ष नेताले एकअर्कोलाई कसरी पराजित गरी संसद्मा आफ्नो प्रतिनिधित्व गर्ने भनी चुनावी रणनीति बनाएर मैदानमा देखिएका छन् । 
२०४८ सालदेखि निरन्तर काँग्रेस नेता सिटौला यस क्षेत्रबाट निर्वाचन लड्दै आएका छन् । २०५६ र २०७० सालमा गरी दुई पटक निर्वाचित भएका सिटौला २०४८, २०५१, २०६४ र २०७४ सालमा गरी चार पटक पराजित भए । 
त्यस्तै २०५६ सालमा पहिलो पटक यस क्षेत्रबाट निर्वाचन लडेका लिङदेन २०६४ सालको निर्वाचनमा उठेनन् । २०७० सालदेखि निरन्तर निर्वाचन लड्दै आएका लिङदेन २०७४ सालको निर्वाचनमा पहिलो पटक निर्वाचित भएर संसद्मा पुगे । त्यसअवधिमा सिटौला र लिङदेन २०५६, २०७० र २०७४ सालमा आमनेसामने देखिए । २०७९ सालको आम निर्वाचनमा पनि सिटौला र लिङदेनबीच कडा प्रतिस्पर्धा हुँदैछ । २०५६ सालको निर्वाचनमा सिटौला १७ हजार ५६९ मत ल्याएर निर्वाचित भएकोमा लिङदेन ५ हजार ६२५ मत ल्याएर तेस्रो भएका थिए । २०७० सालको निर्वाचनमा सिटौला १४ हजार ३५५ मत ल्याएर निर्वाचित भएका उनका निकटतम प्रतिद्वन्द्वी लिङदेन ९ हजार २५३ मत ल्याए । बाम गठबन्धन एकातिर भएकाले २०७४ पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काँग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको थियो । 
तर, झापामा राप्रपा र बाम गठबन्धनबीच चुनावी तालमेल भएको थियो । त्यसबेला राप्रपाका महामन्त्री समेत रहेका लिङदेनले कुनै पनि हालतमा झापा ३ काँग्रेसका सिटौलालाई नछाड्ने अडान लिएको थियो । 
र अन्ततः झापामा बाम गठबन्धनलाई साथमा लिएर झापा ३ मा राप्रपा र काँग्रेसबीच चुनावी प्रतिस्पर्धा भयो ।  लिङदेनले ४४ हजार ६१४ मत ल्याएर निर्वाचित भएकोमा सिटौलाले ३१ हजार १७१ मत ल्याएका थिए ।  यही मंसीर ४ गते हुने आम निर्वाचन अलि पृथक् हुने भएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काँग्रेसका सिटौला तथा नेकपा (एमाले) र राप्रपाका साझा उम्मेदवार राप्रपाका अध्यक्ष लिङदेनबीच कडा प्रतिस्पर्धा हुँदैछ ।  

सम्बन्धित समाचार