नेपाल संवतअनुसार लाग्यो ११४३
झापा । नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो। राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ।त्यतिखेर लिच्छविकालका राजा राघवदेव शासन थियो। यो नेपालको नाममा रहेको मौलिक संवत् हो।
यो संवत् हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ। नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ।
कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।
२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसको ९ वर्षपछि २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।
म्ह (आत्म) पूजा
नयाँ वर्षको दिन नेवार समुदायमा म्ह(आत्म) पूजासमेत गरिन्छ। आत्मा नै सबैभन्दा महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा शास्त्रीय भएको बताइन्छ।
प्रतिपदा तिथि लागेकाले केही स्थानमा मंगलबार नै नयाँ वर्षको स्वागत गर्नुका साथै म्हपूजा पनि गरिएको छ। बुधबार २३:३० घडी अर्थात् अपराह्न ३ बजेर ११ मिनेटपछि द्वितीया लाग्ने भएकाले कतिपयले मंगलबार नै म्हपूजा गरेका हुन्।