मेची नदी, जहाँ नेपाल र भारत दुवै देशका व्रतालु परिवारजनले सँगै मनाए छठ (हेरौं तस्बिरमा)
झापा । सीमावर्ती मेची नदी किनार जहाँ नेपाल र भारतका व्रतालु परिवारजनले एक साथ छठ पर्व मनाएका छन् । नेपाल–भारतको सीमा नाकासँग जोडिएको भद्रपुर– ५ स्थित मेची नदी किनारमा वारिपट्टि नेपाली समुदाय र पारिपट्टि भारतीय समुदायका व्रतालु परिवारजनले आइतबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउँदै हर्सोउल्लासका साथ छठ मनाएका हुन् ।
नदी किनारको मसानघाट देखि मेची पुलको मुख्यद्धार हुँदै देवी बस्ती सम्मको करिब डेढ किलोमिटर वारिपारि करिब ५ हजार बढी पूजा स्थल (घाट) मा व्रतालु परिवारजनले पानीमा ओर्लिएर सूर्य भगवानको पूजा आराधना गरेका थिए ।
मधेसी समुदाय बाहेक अहिले साझा पर्वको रूपमा पहाडी, मारवाडी, बङ्गाली, राजवंशी, लगायतका समुदायले मेची नदीमा छठ पर्व मनाउँदा हजारौँ भक्तजनहरूको घुइँचो नै लागेको थियो ।
मेची नदीमा छठ हेर्न देशका विभिन्न जिल्ला लगायत भारतबाट पनि हजारौँ भक्तजन आएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए । त्यस्तै मेची पुलमा फोटो खिचाउने र भिडियो बनाउनेको दर्शनार्थीहरुको भीड पनि त्यतिकै थियो । मेची किनारमा व्रतालु तथा भक्तजनहरूको सुरक्षाका लागि नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी ६० परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
जिल्लाको मेचीसहित निन्दा, हडिया, विरीङ, मावा, अदुवा, कनकाई लगायतको नदी किनारहरूमा व्रतालु तथा भक्तजनहरूको छठ पूजा स्थलमा घुइँचो समेत लागेको थियो । भोलि बिहान सोमबार उदाउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिँदै छठ पर्व विधिवत् रुपमा समापन हुनेछ ।
सूर्य भगवान् मन्दिरको उद्घाटन
युनिक समूहले भद्रपुर ५ देवीवस्तीस्थित मेची किनारमा निर्माण गरिएको सूर्य भगवान् मन्दिरको उद्घाटन गरेको छ । मेची निर्भर पार्क निर्माणले नदीको किनारको मुहार फेरिएसँगै युनिक समूहले करिब १२ लाख लागतमा निर्माण गरिएको सूर्य मन्दिरको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
.jpg)
छठ पर्वको मुख्य दिनमा विशेष पूजा अर्चना पश्चात् मन्दिरको उद्घाटन गरिएको समूहका अध्यक्ष प्रकाश राजवंशीले जानकारी दिए । समूहमा बचत, वडा कार्यालयको ५ लाख बजेट र बाँकी अपुग रकम विभिन्न दाताहरूबाट सङ्कलन गरी मन्दिर निर्माण गरिएको उनले बताए ।
‘हरेक वर्ष छठ पर्वको दिन माटोले निर्मित सूर्य भगवानको मूर्ति खरिद गरी ल्याउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यस वर्षदेखि अस्थायी मुक्ति खरिद गर्ने समस्याको अन्त्य भएको छ ।’ अब आउँदो वर्षभित्र निर्माणाधीन मन्दिरको बाँकी काम सम्पन्न गरिने उनको भनाई छ ।