पेट्रोलियम पदार्थ खपत कम गर्न कनकाई नगरपालिकाले किन्यो विद्युतीय सवारी
(चन्द्र बस्नेत) सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले पेट्रोलियम पदार्थ कम खपत गर्ने उद्देश्यले दुई थान विद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । सुखी नेपाली समृद्ध नेपाल बन्ने आकाङ्क्षा सपनामै सीमित बन्ने भन्दै कुनै पनि राम्रो कामको सुरुवात पहिला आफैँबाट गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले विद्युतीय इलेकट्रोनिक्स एउटा मोटरसाइकल र एउटा स्कुटर खरिद गरेको हो ।
हाल विद्युत् उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि उक्त विद्युत्लाई सवारी साधनमा समय अनुकूल प्रयोग हुन नसक्दा अन्य देशबाट ल्याइने सवारी इन्धनको आयात घटेको छैन ।
त्यसरी इन्धन आयात हुँदा देश बर्सेनि आर्थिक घाटामा गइरहेको छ । आफ्नै देशको ऊर्जालाई प्रयोग गरेर आफैँ समृद्धि बन्नेतर्फ स्थानीय स्तरबाट नै सोच परिवर्तन नगरेसम्म नेपाल र नेपालीको सुखी तथा समृद्ध बन्ने सपना मात्र रहन्छ । त्यसैलाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले मोटरसाइकल र स्कुटर खरिद नगरमा भित्र्याएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए।
दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थले खर्चसँगै वातावरणीय असर पनि निम्त्याएको छ । इलेक्ट्रिक सवारी साधनको प्रयोगले बिदेसिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनि प्रदूषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको लागि विद्युतीय बाइक र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताए ।
विद्युतीय सवारी साधन कनकाई नगरपालिकाले पहिलो पटक भित्र्याएसँगै अन्य पालिकाले पनि माग पत्र पेस गर्न थोलेको सिटौला इन्टरप्राइजेजले जनाएको छ । अहिले पहिलो चरणमा दुई वटा सवारी साधन भित्र्याएसँगै खर्च कम हुने भएपछि यसको माग नगरभरि नै बढ्दै गएको नगर प्रमुख पोखरेलका स्वकीय सचिव विजय पाठकले जानकारी दिए ।
इलेक्ट्रिक सवारी साधनको प्रयोगले बिदेसिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनि प्रदूषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको रूपमा पहिलो पटक दुई वटा सवारी खरिद गरे सँगै अब कनकाईमै दुई वटा सम्म चार्ज स्टेसन निर्माण गर्ने तयारी गरिरहेको नगरका योजना प्रमुख विवेक भण्डारीले बताए ।