२०८३ बैशाख २४ गते , विहीबार

स्व.देवीप्रसादको स्मृतिमा अर्जुनधारामा एक करोडको लागतमा मन्दिर निर्माण

sajilo news
झापा
२०७९ कार्तिक १७ गते , विहीबार
स्व.देवीप्रसादको स्मृतिमा अर्जुनधारामा एक करोडको लागतमा मन्दिर निर्माण

(सन्तोष न्यौपाने) बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको श्री पवित्र हरि मन्दिर तथा श्री हरिभक्त सेवा संघ शाखालाई बिर्तामोडका भट्टराई परिवारले आफन्तको स्मृतिमा मन्दिर निर्माण गरी हस्तान्तरण गरेका छन् । 

स्व.देवीप्रसाद भट्टराईको स्मृतिमा उनको परिवारले हरिभक्त सेवा संघलाई रू एक करोडको लागतमा मन्दिर निर्माण गरी आज बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । 

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्दन, वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्र, दिवङ्गत भट्टराईकी पत्नी श्रीमाया भट्टराई तथा छोरा निर्मल भट्टराई , बुहारी सुमित्रा भट्टराई लगायतले मन्दिर परिसरमा निर्माण गरिएको शिलालेखको अनावरण पश्चात् समितिलाई हस्तान्तरण गरेका  थिए । 

नवनिर्मित भवनका लागि स्वर्गीय देवीप्रसादले २ कट्ठा १ धुर जग्गा दान दिएका थिए । सो जग्गामा मन्दिर निर्माण गर्ने सोचका साथ भवन बनाए पनि उनको  २०७७ कात्तिक १७ गते कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको थियो । 

पिता देवीप्रसादले आफ्नो माता–पिता कर्णबहादुर र खिनमायाको स्मृतिमा मन्दिर निर्माण गर्ने सोच बनाउनु भएको छोरा निर्मल भट्टराईले बताए । “बुबाले मन्दिर बनाउने उद्देश्यले जग्गासमेत व्यवस्थापन गर्नुभएको थियो”, उनले भने,  “उहाँको सोचलाई हामीले मूर्तरूप दिएका हौँ ।”

मन्दिर निर्माणसँगै पिताको स्मृतिमा रू ५० लाखको अक्षयकोष स्थापना गर्न लागिएको समेत उनले बताए ।  कोषबाट प्राप्त रकम विपन्न समुदायको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा खर्च गरिने र क्रमशः कोषलाई रू एक करोडको बनाइने उनको भनाई छ । 

साथै  भट्टराई परिवारले सो भवन निर्माणका लागि दिएको जग्गाको धनिपुर्जा समेत वितरण गरेको छ । युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराई उनकी श्रीमती सुमित्रा  र आमा श्रीमाया भट्टराईले उक्त जग्गाको धनिपूर्जा वडा ९ का वडाध्यक्ष भीष्म मिश्र , नगर प्रमुख बलदेव सिंह गोम्देन तथा मन्दिरको अध्यक्ष शान्ता विष्टलाई हस्तान्तरण गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गोम्देनले सक्षम समाज निर्माणमा धर्मको योगदान उच्च हुने बताए । “धर्मले मानिसलाई अनुशासित र समक्ष बनाउन मद्दत गर्ने समेत उनले उल्लेख गरे । उनले “समाजलाई समृद्धि बनाउन धर्मको महत्त्वपूर्ण योगदान रहेका भन्दै  भट्टराई परिवारले मन्दिर निर्माण गरेकोमा सह्राना गर्दै मन्दिरको थप विकास लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

साथै कार्यक्रममा ६५ जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विशेष अतिथि वडाध्यक्ष भीष्म मिश्र, सामाजिक धार्मिक व्यक्तित्व सत्यनाथ भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सम्बन्धित समाचार