सिभिल बैङ्कको स्थापना दिवस : भद्रपुर माविका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
भद्रपुर । सिभिल बैङ्कले एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सिभिल बैङ्कले आफ्नो १२ औं स्थापना दिवसको भद्रपुर शाखाले भद्रपुर मावि कक्षा ८ मा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रा काजल चौधरीलाई छात्रवृत्ति प्रदान गरिएको भद्रपुर शाखा प्रबन्धक घनश्याम पोखरेलले जानकारी दिए । विद्यालय प्राङ्गणमा शुक्रबार बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी छात्रा चौधरीलाई छात्रवृत्ति बापत नगद ५ हजार प्रदान गरिएको उनले बताए ।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम गुरुङ, बैङ्कका कर्मचारी, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । बैङ्कले अघिल्लो बर्षपनि भद्रपुर माविका एक जना छात्रालाई छात्रवृत्ति प्रदान गरेका थिए ।
त्यस्तै स्थापना दिवसकै अवसरमा बैङ्कले भद्रपुर ८ स्थित एसएस निकेतन इङ्लिस स्कुलका शिक्षकहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम प्रदान गरेको बैङ्कका रिलेसन सिप अफिसर विकाश बुढाथोकीले जानकारी दिए ।
शिक्षकहरूलाई बैङ्किङ कारोबार गर्दाको फाइदा, ठगी धन्दा बच्ने उपाय, रकमलाई कसरी सुरक्षित गर्ने विषयमा सहजीकरण गरिएको उनले बताए । बैकले सो कार्यक्रम सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । २०७६ साल साउनमा भद्रपुर शाखा स्थापना गरेको बैङ्कको हाल १ नम्बर प्रदेशभरि २१ वटा शाखा र ६ वटा एक्सचेन्ज क्वान्टर रहेको जनाइएको छ ।
