२०८३ जेष्ठ २७ गते , बुधबार

झापा- ३ : लिङ्देन पुनः दोहोरिँदा बानिया किन हारे ?

sajilo news
झापा
२०७९ मंसीर १३ गते , मंगलबार
झापा- ३ : लिङ्देन पुनः दोहोरिँदा बानिया किन हारे ?

गत २०७४ को निर्वाचनमा झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र एमालेका वसन्त बानियाले एउटै चुनावी तालमेलबाट चुनाव जितेका थिए । लिङ्देन प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै गर्दा बानियाले ३(१) को प्रदेशसभा सदस्यमा जितेका थिए । २०७९ को आम निर्वाचनमा लिङ्देनले फेरि तिनै पुराना प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाई सजिलै हराए । तर, बानिया भने २०७४ कै प्रतिस्पर्धी काङ्ग्रेसकै भूमिप्रसाद राजवंशीसँग पराजित भए ।

यसरी सँगैका एक उम्मेदवारले विजय हासिल गर्दा अर्काले हार बेहोरेका छन् । जसबाट एमालेका उम्मेदवार बानियासहित एमाले कार्यकर्ताहरूलाई नमज्जा लागेको छ । काँग्रेसका सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष लिङ्देन लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेसँग चुनावी तालमेल गरी झापा ३ बाट लिङ्देन उम्मेदवार बनेका थिए । लिङ्देनले ४० हजार ६६२ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए । नेता सिटौलालाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को त्रिपक्षीय समर्थन थियो भने राप्रपा अध्यक्ष लिङ्देनलाई नेकपा एमालेको दर्बिलो समर्थन थियो ।

यसअघि लिङ्देनले गत २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई नै पराजित गरेका थिए । गत २०७४ को प्रतिनिधिसभा निर्वाचनमा लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए भने नेता सिटौलाले ३१ हजार १५९ मत ल्याएका थिए । अर्कोतर्फ सँगैका प्रदेशसभा सदस्यका उम्मेदवार बानिया यस पटक पराजित भए । २०७४ को निर्वाचनमा बेहोरेको हारको बदला लिँदै काँग्रेसका राजवंशीले बानियालाई पराजित गरी हारको बदला पूरा गर्ने मौका पाए ।

राजवंशी २० हजार ७७० मत ल्याई प्रदेश सदस्यमा निर्वाचित हुँदा बानियाले १९ हजार ७०१ मत ल्याए । २०७४ को निर्वाचनमा बानियाले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए । एउटै चुनावी तालमेलभित्र राप्रपाका लिङ्देनले सिङ्गो क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा जित्नु र एमालेका बानियाले प्रदेशसभा सदस्यमा समेत जित्न नसक्नुको विभिन्न कारणहरू भएको विश्लेषण गरिएको छ ।

मलाई एमाले कार्यकर्ताहरूले नै भोट दिएनन्–बानिया

राप्रपा अध्यक्ष लिङ्देनसंगै आफू दोहोरिन नसक्नुको पछाडि विभिन्न कमजोरी रहेको बानियाले बताएका छन् । एमालेभित्रको आन्तरिक समस्याका कारण प्रमुख रुपमा आफूले पराजय बेहोर्नु परेको उनको ठम्याइ छ । एमाले र राप्रपाले चुनावी तालमेल गरिरहँदा आफूले राप्रपाको भोट पाए पनि एमालेको शतप्रतिशत भोट नपाएको बताउँदै बानियाले आफ्नै पार्टीभित्र अन्तर्घात गरेर आफूलाई हराएको दाबी गरे । ‘मलाई एमालेकै नेता कार्यकर्ताले अन्तर्घात गरे ’उनले भने,‘त्यस कारण चुनाव जित्न सकिएन ।’

बानियासँगै गत २०७४ को निर्वाचनमा एमाले–राप्रपा–माओवादी गठबन्धनबाटै चुनाव जितेका माओवादीका उम्मेदवार पूर्णसिंह राजवंशीले पनि दोहोरिन पाएनन् । झापा ३९२० बाट उनी यस पटक भने काँग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

सम्बन्धित समाचार