किचकबधमा २३ लाख बढी लागतमा भीम–कीचकको नयाँ मूर्ति राखियो
भद्रपुर । झापाको भद्रपुर–२ स्थित किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलमा भीम–कीचकको नयाँ मूर्ति अनावरण गरिएको छ । शनिवार एक कार्यक्रमका बीच पूर्व संविधानसभा सदस्य जितु गौतमले भीम–कीचकको नवनिर्मित मूर्ति अनावरण गरेको हो । मूर्ति अनावरणपछि पूर्व संविधानसभा सदस्य गौतमले किचकबध सबै जातजातिको पवित्र भूमि भएको बताए ।
“स्थानीय मात्र होइन, किचकबध नेपालकै सन्दर्भमा सबै जातजातिको पवित्र पुञ्ज हो”, उनले भने, “यसको संरक्षण र संवर्द्धनमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी छ ।” महाभारतकालीन ऐतिहासिक भूमि किचकबधको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए ।
संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत प्राप्त रू ५० लाख र जनसहभागिता बापतको रू १२ लाख ५० हजारको लागतमा घेराबारा र भीम–कीचकको मूर्ति निर्माण गरिएको किचकबध धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । उक्त बजेटमध्ये रू २३ लाख ७० हजार ८७७ को लागतमा भीम–कीचकको मूर्ति निर्माण गरिएको उनले बताए । त्यस्तै, पर्यटकीय स्थल संरक्षनार्थ रू ३८ लाख ७८ हजार ६८१ को लागतमा घेराबारा गरिएको छ ।