भद्रपुर नाका : अज्ञात समूहद्वारा बारम्बार मेची पुलमा जडित बिजुलीबत्तीको तार काट्दै, ठूलो दुर्घटना हुनबाट जोगियो
भद्रपुर । अज्ञात समूहले भद्रपुरस्थित मेची पुलमाथि जडान गरिएको बिजुलीबत्ती(लाइट) को तार काट्न थालेको छ । नेपाल–भारत सीमा नाकामा चौबिसै घण्टा तैनाथ सुरक्षाकर्मीलाई समेत चुनौती दिँदै ती समूहले बारम्बार मेची पुलमाथि जडित बिजुलीबत्तीको जिआई तार काट्न थालेको हो ।
आइतबार राती करिब ११ बजे मेची पुलको नेपालतर्फको प्रवेशद्वारको दक्षिणी पट्टीको भागमा अज्ञात समूहले बिजुलीको तार काटेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए ।
बिजुलीको तार काटेको स्थानदेखि वडा प्रहरी कार्यालय १०० मिटर दुरीमा छ, भने सीमामा तैनाथ सुरक्षाकर्मी ५०० मिटर पूर्वमा तैनाथ थिए । पुलमाथि बत्ती बाल्न छाडेर अन्ध्यारो भएपनि सीमामा तैनाथ सुरक्षाकर्मीले किन घटना थाहा पाएन भन्ने गम्भीर प्रश्न जनमासमा उठेको छ ।
बिजुलीको तार काट्नेले नाङ्गो तारलाई पुलमा लगाइएको फलामको रेलिङमा टँसाएर बाधेका थिए । वडाबाट खटिएका गस्ती प्रहरी टोलीले मध्यरातमा पुलमा किन बत्ती बलेन भनेर छाडेको भन्दै खोजतलास गर्दै जाँदा तार काटेर फलामे रेलिङमा लगाएर जोडेर छाडेको अवस्थामा फेला पारेको थियो ।
त्यसपछि प्रहरीले तत्काल पुलमा बिजुली प्रवाह हुने मेन स्विच गरिदिए । प्रहरीले राती नै बिजुली बन्द नगर्दा मर्निङ वाकका लागि पुलमा जाने व्यक्तिले फलामको रेलिङ छुन्थ्यो, त्यही बेला मानवीय दुर्घटनाबाट हुन सक्थ्यो । धन्न बेलैमा प्रहरीले पत्ता लगाएर सम्भावित दुर्घटनालाई रोक्न सफल भएको स्थानीयवासी बताउँछन् । बिजुलीको तार काट्नेले कुनै औजार प्रयोग नगरी पुलमा दलेर तार काटेको बताइएको छ ।
‘तार काट्ने पनि दुर्घटनामा पर्न सक्थ्यो,’ वडाका प्रहरी निरीक्षक बुढाथोकीले भने, ‘सिसी क्यामेराबाट कति जना मान्छे तार काट्न गएको भनी खुलिसकेको छ, छिट्टै पक्राउ गरी कानुनी दायरमा ल्याउँछौँ ।’
सीमा नाकाबाट हुने तस्करी गतिविधिमाथि सुरक्षाकर्मीले कडाइ गरेपछि त्यसैको रिसमा चिनजानकै व्यक्तिबाट तार काटेको हुने सक्ने प्रहरीको अनुमान छ । यसअघि पनि अज्ञात समूहले मेची पुलबीच भागमा बत्तीको तार दुई टुक्रा बनाएका थिए । चालु आर्थिक वर्षमा भद्रपुर नगरपालिकाले लाखौँ रकम खर्चिएर सीमा नाका मेची पुलमा बिजुली बत्ती जडान गरेको हो ।