भद्रपुरका शारदा र पशुपतिका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भद्रपुर । भद्रपुरका दुई विद्यालयलाई आइतबार राजधानी काठमाडौँबाट आएको टोलीले स्कुल ब्यागसहित शैक्षिक सामग्री र जुस बिस्कुट वितरण गरेको छ। नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना तथा लायन्स र लियो क्लब अफ काठमाडौँ सेन्टरको सहकार्यमा भद्रपुरको शारदा आधारभूत विद्यालय र पशुपति प्राथमिक विद्यालयलाई ती सामग्री वितरण गरिएको हो।
दुवै विद्यालयका २ सय ५० बढी विद्यार्थीलाई स्कुल ब्याग, कपि, इरेजर, पेन्सिल, रुलर, कलर पेन्सिल, लगायत शैक्षिक सामग्री सहित मेङ्गो जुस र बिस्कुट वितरण गरेको थियो ।
लायन्स क्लब काठमाडौँको “एक विद्यार्थी एक कार्यक्रम” अभियान अन्तर्गत यस पटक तराई क्षेत्रका विद्यालयलाई ब्याग वितरणको लक्ष्य राखेर भद्रपुरका यी विद्यालय छनौट गरिएको लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष मनिष अग्रवालले जानकारी दिए ।
नेपाल फर्निचर तथा फर्निसिङ सङ्घ काठमाडौँका अध्यक्ष झापा भद्रपुर निवासी दिनेश अग्रवालको अगुवाइमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका ६ नम्बर वडाध्यक्ष रतिया राजवंशी, ५ नम्बर वडा सदस्य जेष्ठमल ठाकुर, समाजसेवी तथा उद्योगी सत्यनारायण तायल, गोपाल अग्रवाल, अजय साहेवाला, मनोज श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती मानी एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरूको उपस्थितिमा विद्यालयमै पुगेर छात्र छात्रालाई ती सामग्री वितरण गरेको जनाइएको छ।