झापामा माई मेलाको उद्घाटन
झापाको कनकाई माई नदी किनारामा लाग्दै आइरहेको माई मेला शुक्रवार आजदेखि सुरु भएको छ । माघी पर्वको अवसरमा धार्मिक रुपमा लाग्दै आएका माई मेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् ।
आजदेखि सुरु भएको मेला माघ २ गतेसम्म लाग्ने मेला आयोजक समितिका अध्यक्ष श्याम राईले जानकारी दिए । मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायतका खाद्य पदार्थ सेवन गर्दै तिलको आगो ताप्नाले पाप कर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोग समेत निको हुने जनविश्वास छ ।
कनकाई माईको दुवै किनारामा लाग्ने मेलामा नेपाल तथा भारतबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गर्दछन् । माई मेला माघ १ गतेको मकर संग्रान्तिका दिन विशेष रुपमा लाग्दै आइरहेको छ भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरूको स्टल राखिएको आयोजक समितिका अध्यक्ष राईले बताए ।
मेला उद्घाटन कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदी, ३ का वडाअध्यक्ष युवराज चम्लगाई, एमालेका नगर अध्यक्ष खडग प्रसाईँ काँग्रेसका नगर सभापति दुर्गा प्रसाईँ माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई राप्रपाका इन्द्र रोक्का लगायतले मेलाको पौराणिक र मनोरञ्जनात्मक पक्षका बारेमा बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अनुप भण्डारीले गरेका थिए ।