झापा गाउँपालिकाका विद्यार्थीलाई साइकल
कुमरखोद । झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई साईकल वितरण गरेको छ ।
पालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई साईकल वितरण गरेको हो । झापा गाउँपालिकाको शिक्षा शाखाले मङ्गलवार एक कार्यक्रमका बीच ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई साईकल वितरण गरेको हो । साईकल वितरण गरिएका विद्यार्थीहरूमा डिल्लीराज माविका १७० जना , कुवाडीदेवी माविका ५८ जना , महेन्द्र माविका ३३ जना , जनता माविका १११ र जनकल्याण माविका ४२ गरी ४१४ जना रहेका छन् । ४३ जना विद्यार्थीहरू भने अनुपस्थित रहेका थिए ।
पालिकाभरि सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कुल विद्यार्थीको सङ्ख्या ४५७ रहेको छ । त्यसमध्ये छात्रा १९५ र छात्र २६२ जना रहेका छन् । झापा गाउँपालिकामा सामुदायिकतर्फ मावि ५ , निमावि ५ र प्रावि ११ गरी कुल २१ वटा विद्यालयहरू रहेका छन् ।झापा गाउँपालिकाले शिक्षामा धेरै नै लगानी गरेको देखिन्छ । पालिकाले प्राविधिक शिक्षा लागु गरेको छ भने एसइईमा उत्कृष्ट सन्थाल र मुस्लिम समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
त्यस्तै कक्षा ११ र १२ का विद्यार्थीलाई निःशुल्क अध्यापनको व्यवस्था गरिएको छ । झापा गाउँपालिकाले अघिल्लो वर्ष छात्रालाई मात्र साईकल वितरण गरेको थियो । यस वर्ष भने छात्रलाई पनि दिइएको छ । पालिकाले विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी ल्याएको यो कार्यक्रमले विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्नुका साथै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि हुने अध्यक्ष जयनारायण शाहले विश्वास व्यक्त गरे ।
डिल्लीराज माविका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलिया , वडा अध्यक्ष सखीचन्द्र ठाकुर , झापा गापा शिक्षक महासंंघका अध्यक्ष जगन्नाथ राजवंशी , जनता मावि व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर कार्की , विद्यार्थी सल्मा खातुन र कन्चन राजवंशीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले गरेका थिए ।