२०८३ बैशाख १२ गते , शनिबार

भारतको विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०७९ माघ ११ गते , बुधबार
भारतको विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु

भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको छ । मंगलबार विषाक्त मदिरा पिएकामध्ये छ जनाले आँखाको ज्योति गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । 

सुरुमा विहारको राजधानी पटनाबाट करिब एक सय सात किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको लकरी नबगञ्जमा विषाक्त मदिरा पिएर एक जनाको मृत्यु भएको खबर आएको थियो । बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सरकारी प्रसारणमा जनाइएको थियो । मदिरापानबाट बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको थियो।

हात निर्मलीकरण गर्ने स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’बाट नक्कली मदिरा उत्पादन गरिएको विहारका अतिरिक्त प्रहरी महानिर्देशक जेएस गङ्गबारले बताएका छन्। विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरिएको छ । 

विषाक्त मदिरा बेचविखनविरुद्ध अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ । गत महिना विषाक्त मदिरा सेवनबाट विहारको शारण जिल्लामा ९० जनाले ज्यान गुमाएका थिए ।  

सम्बन्धित समाचार