२०८३ बैशाख २६ गते , शनिबार

किचकबध धार्मिक मेलाको तयारी तीव्र, आइतबार दुई पालिकामा बिदा

sajilo news
पार्थ मण्डल
२०७९ माघ २० गते , शुक्रबार
किचकबध धार्मिक मेलाको तयारी तीव्र, आइतबार दुई पालिकामा बिदा

झापा ।  महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारीले तीव्रता पाएको छ।  यही माघ २२ गते आइतबार माघे शुल्क पूर्णिमारस्वस्थानी व्रतका दिन किचकबध मेला लाग्ने भएको छ। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण आयोजक समितिले मेला नलाए पनि यस वर्ष मेला लगाउने तयारीमा समिति जुटेको छ। 

भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिक स्थलमा तनि दिनसम्म लाग्ने मेलाको तयारी धमाधम भइरहेको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए। 

किचकबधको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकाले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने धार्मिक विश्वास छ। 

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन रहेको छ। भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्छन्। किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो लाग्ने गरेको छ। 

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ। 

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण दिइयो। 

भद्रपुर र कचनकवलमा स्थानीय बिदा

किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।  नगरपालिकाकाले शुक्रबार सूचना जारी गर्दै किचकबध मेलाका दिन स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए। 

नगर कार्यपालिकाअन्तर्गत रहेका सबै निकाय र शैक्षिक संस्थामा बिदा दिइएको उनले बताए। त्यस्तै कचनकवल गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले जानकारी दिइन्। 

सम्बन्धित समाचार