आज पशुपतिनाथ मन्दिरमा छायाँ दर्शन
हरेक महिनाको चतुदर्शीमा भगवान् पशुपतिनाथमा विभिन्न पर्व पर्छन्। माघ शुक्ल चतुर्दशी (माघ २१) मा नित्य पूजा सकेपछि पशुपतिनाथलाई बुद्धरूपमा पूजा गर्ने र बुद्धरूप पशुपतिको छायाँ दर्शन गर्ने परम्परा छ। चोयाबाट तला पारेर बनाइएको मुकुटमा पहेंलो कपडाले ढाकी स्वर्ण मुकुटको अनुकरणमा पशुपतिनाथलाई पहिराइन्छ। तीन तला बनाइने पर्व बुद्ध स्तूपहरूमा माथि बनाइने हर्मिकाको प्रतिरूप हो। पशुपतिनाथ अगाडि गर्भगृहको अन्तरालमा पर्वको दिन जल भरिन्छ। सफा संगमर्मरमाथि भरिएको जलमा भक्तहरूले पशुपतिनाथको छायाँ दर्शन गर्छन्।
पशुपतिनाथलाई यस दिन मुकुट लगाइदिने र भोलिपल्ट छायाँ दर्शन गर्ने परम्परा छ। यस्तो क्रियालाई कैलाश कुसुमारोहण तथा स्थानीय बोलीचालीको भाषामा टिकिंछ्या भनिन्छ। नेवारी भाषामा टिंकी अर्थात् फल तथा छ्या अर्थात् चढाउनु हो। भगवान्लाई मन पर्ने फूल चढाउनु यस पर्वको मूल उद्देश्य हो। वंशावलीअनुसार काठमाडौंका राजा प्रताप मल्लका पुत्र नृपेन्द्रका पालामा कुनै तिरहुतिया ब्राह्मण धर्मा झाले चाँगुमा भोज खुवाउन जाँदा गोत्र हत्या गरेछन्। तिनलाई सजायस्वरूप सर्वस्वहरण गरिएछ। तिनको सर्वस्व सम्पत्ति तत्कालीन समयमा करिब तीन लाख रुपैयाँबराबर सरकारमा दाखिला हुँदा राजाले ब्राह्मणको ब्रह्मस्व खाने छैन भनी त्यसलाई विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरेछन्। यसै क्रममा नृपेन्द्रले पशुपतिनाथका पुजारी स्वामी विमलानन्दसँग सल्लाह गरी उक्त धनले शिर्वाचन चण्डिकाशास्त्र प्रमाण गरी पशुपतिनाथमा वर्षवर्धन गर्ने कार्य थालेछन्।
यसैगरी अस्पर्श वस्तु आर्जित पाप क्षय होस् भनी कैलाश कुसुमारोहण नामले पशुपतिनाथलाई मन परेको कुरा चढाउने कार्य गरेछन् भन्ने पनि उल्लेख छ। यही सम्पत्तिबाट भुवनलक्ष्मीले भने भुवनेश्वर महादेव स्थापना गरेको पाइन्छ। हाल पनि पशुपतिनाथलाई टिकिंछ्या वा मुकुट अर्पण गर्ने क्रममा संकल्प गर्दा रानी भुवनलक्ष्मीको नाम लिने चलन छ, जसमा तिनलाई भौमालक्ष्मी भनिन्छ। शिवजीलाई मनपर्ने फूलबाट कैलाश पर्वतजस्तो तहतह परेको चुच्चे मुकुट बनाई पशुपतिनाथलाई अर्पण गरिने पर्वको नाम कैलाश कुसुमारोहण हो। पछिल्लो कालमा फूलको सट्टा रंगीविरंगी कपडाले बनेको मुकुट चढाउने परम्परा छ।
कैलाश कुसुमारोहणका लागि करिब सात रंगको कपडा प्रयोग गरिन्छ। सेतो कपडा ल्याई रंग्याउने काम काठमाडौं लगनटोलका छिपा जातिले गर्थे। सोबापत उनीहरूलाई गुप्ती पूजाको भाग र केही सिक्का दस्तुर दिने तथा भोज खुवाउनुपर्ने चलन थियो। अहिले उक्त जनशक्तिको अभावले बजारबाट रंगीन कपडा ल्याई मुकुट बनाउने गरिन्छ। उक्त काम पुस्तौंदेखि पशुपतिनाथअन्तर्गत भण्डार तहबिलमा नाइकेका रूपमा रहने बिसेटले नै गर्दै आएका छन्। यसका लागि चाहिने मुकुट बेतका डाँठमा कपडा मोरेर बनाइन्छ। दुई तहको यस्तो मुकुट चैत्य आकारको देखिने हुँदा कसैकसैले यस कार्यलाई वर्षको एकपटक पशुपतिनाथलाई बुद्धको मुकुट लगाइदिने परम्परा मानेका छन्। मुकुट रंगीचंगी एवं कलात्मक हुन्छ। जसमा बिच्छी र सर्प आदिका चित्रहरू पनि अंकित गरिएका हुने गर्छन्।
टिकिंछ्याका अवसरमा अघि राजदरबारमा नरिवल, पगरी, किसली, कुण्डपुष्प, फूल, दूबो, अविर र केशरी आदि पूजासामग्री पठाई राजाका हातबाट संकल्प गराएर मात्र पशुपतिनाथलाई मुकुट चढाउने परम्परा थियो। हाल भने बिसेट नाइकेका घरमा मुकुट निर्माणगरी विशेष धूमधामका साथमा पशुपतिनाथ मन्दिरमा लैजाने चलन छ। यसका लागि सर्वप्रथम मुकुट लिन अमालकोट कचहरी र भण्डार तहबिलका कर्मचारी आशागुर्जा र बाजागाजासहित बिसेटको घरमा जाने गर्छन्। ढोकामा ल्याउने गर्दछन्। त्यसपछि दक्षिणामूर्तिका पुजारी राजोपाध्याय तथा जोशीले लशकुश स्वागत गरी पशुपतिनाथ मन्दिर परिक्रमा गराउने परम्परा छ। टिकिंछ्या अर्पण गरिने दिन पशुपतिनाथ र वासुकीनाथमा विशेष पञ्चामृत पूजा गरिन्छ।
पशुपतिनाथ प्रांगणमा अवस्थित नवग्रहको पूजाका साथमा कीर्तिमुखमा बली पूजा गर्ने परम्परा छ। त्यस अवसरमा भुवनेश्वरी र वत्सलेश्वरीको पूजा गर्ने, बिसेट नाइकेको निवासमा हवनादी पूजा गर्ने तथा पशुपतिनाथको यज्ञशालामा राजोपाध्यायले कुमारी स्थापना गरी हवन तथा गुप्ती पूजा गर्ने गरिएको पाइन्छ। त्यसपछि बिसेट नाइकेले उक्त मुकुट पशुपतिनाथको दक्षिण ढोकाबाट भगवान्लाई अर्पण गर्न दिने गर्छन्। पशुपतिनाथको नित्य पूजा सकिएपछि श्री पशुपतिनाथलाई उक्त मुकुट लगाइदिने चलन छ।
छायाँ दर्शनका लागि पशुपतिनाथ मन्दिरको दक्षिणतिरको भित्री चाँदीको छेकवार निकालिन्छ र त्यसबाहिरको सानो खोपिल्टोमा जल भरेर त्यसैमा पशुपतिनाथको मुकुटसहितको छायाँ दर्शन गर्ने परम्परा छ। त्यसको भोलिपल्ट पूर्णिमाका दिन भगवान्को शृंगार उतार्ने बेला नभएसम्म श्रीको छायाँ दर्शन गर्न भक्तहरूको घुइँचो लाग्ने गर्छ। यसरी भगवान् पशुपतिनाथलाई मुकुट अर्पण गरिने सांस्कृतिक पर्वका रूपमा यो उत्सव परिचित छ। उक्त पूजा पशुपतिनाथको अमर्त सम्पदा हो ।
छायाँ दर्शनका लागि पशुपतिनाथ मन्दिरको दक्षिणतिरको भित्री चाँदीको छेकवार निकालिन्छ र त्यसबाहिरको सानो खोपिल्टोमा जल भरेर त्यसैमा पशुपतिनाथको मुकुटसहितको छायाँ दर्शन गर्ने परम्परा छ।