अर्जुनधारा जलेश्वर धाममा १०८ शिवलिङ्ग अनावरणको तयारी
(इन्द्रकुमार राई) अर्जुनधारा । अर्जुनधारा जलेश्वरधाम परिसरमा निर्मित १०८ शिवलिङ्ग अनावरणको तयारी गरिएको छ । धामले शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिरको समुद्घाटन आगामी फागुन ६ गते महाशिवरात्रि पर्वका दिन गर्ने भएको हो ।
धामले महाशिवरात्रि पर्वको अवसरमा फागुन १ गतेदेखि ६ गते सम्म धार्मिक विविध कार्यक्रमका साथ शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिरको समुद्घाटन गर्न लागेको हो । बिर्तामोड निवासी दाताद्वय कमल बस्नेत र झुमा बस्नेतको लगानीमा निर्माण गरिएको १०८ शिवलिङ्ग सहित पार्वती मन्दिर महाशिवरात्रि पर्वकै दिन दाताबाट धामलाई हस्तान्तरण गरिने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
फागुन १ गतेदेखि सुरु भई ६ गते समापन हुने धार्मिक अनुष्ठान दैनिक हवन ,रुद्राभिषेक ,प्राण प्रतिष्ठा , दैनिक गङ्गा आरती एवं समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि भारत हिमाचल प्रदेश केदारनाथ धामका आदिदेव बाबा बर्फानीजी रहने जलेश्वरधाम कार्यसमितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।
गट्टानीका अनुसार धामका ब्यासाचार्य कुवेर सुवेदी तथा मुख्य पुजारी अग्निप्रसाद सिग्देलको प्रमुख आचार्यत्वमा संस्कृत वेद विद्यापीठ (गुरुकुल) का विशिष्ट ११ जना शिक्षक र विद्यार्थीहरू सहित फागुन १ गते सोमबारका दिन धामबाट पवित्र कन्काइ माई गई १०८ घडामा जल लिएर कलश यात्रा तथा मण्डव पूजन, २ गते देखि दैनिक प्राण प्रतिष्ठाका साथ रुद्राभिषेक, सप्तशती र वेद पाठ ,२ गते देखि ६ गतेसम्म साँझ ६ ः३० बजे देखि दैनिक गङ्गा आरती , दैनिक ७ ; ३० बजे देखि बेलुकी ९ः३० बजे सम्म भजन –कीर्तन ,दैनिक महाराजजी दर्शन भेट र आशीर्वाद प्रवचन ,६ गते दिउँसो १ः३० बजे मन्दिर समुद्घाटन तथा सम्मान कार्यक्रम, रात्रि चार प्रहर पूजा एवं ख्याति प्राप्त कलाकारहरूबाट एक साँझ शिवको माझ विशेष भजन सन्ध्या गरिनेछ ।
शिवलिङ्ग अनावरण तथा पार्वती मन्दिर समुद्घाटन प्रमुख अतिथि बाबा बर्फानीजीको बाहुलीबाट हुने बताइएको छ । धाममा महाशिवरात्रि पर्वका दिन उल्लेखनीय भक्तजनहरूको उपस्थिति रहने धामका महासचिव शिवलाल खतिवडाले जानकारी दिए ।