विदेशीको नक्कल गरेर ठुल–ठुला टावरले मात्र पर्यटक भित्रिँदैनन् : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन नेपालीपन झल्किने किसिमको हुने पर्ने बताएका छन् । मन्त्री किराँतीले विदेशीको नक्कल गरेर ठूल–ठुला टावर तिर नजान आग्रह गर्दै नेपालको पर्यटनमा नेपालीपन देखिने खालको हुनु पर्नेमा जोड दिएका हुन् । नेपालको पर्यटन सांस्कृतिक पहिचान झल्किने खालको जुन एउटा क्षेत्रमा घुम्दा सिङ्गो नेपाल देखिने हुनु पर्ने बताएका छन् । नेपाली पनको पर्यटन क्षेत्र हुँदा मात्र विदेशी पर्यटक नेपाल आउने उनको भनाई छ ।
‘नेपालमा व्यापक पर्यटनको सम्भावना छ’ मन्त्री किराँतीले भने ‘तर, पर्यटन नेपाली पनको नेपालको इतिहास बोकेको हुनुपर्छ ।’ झापाको बिर्तामोडमा मंगलबार नेकपा ९माओवादी केन्द्र० झापाद्वारा आयोजित भेटघाट कार्यक्रममा मन्त्री किराँतीले सरकारलाई असफल हुने छुट नभएको बताए । उनले अहिले समग्र राजनीतिक स्थिरता, आर्थिक सङ्कट र समाजमा देखिएको अराजकताले नागरिक आक्रान्त बनेको बताए ।
‘समस्याको चाङ छ, समाधान मात्र होइन विकास पनि गर्नुछ, अहिले हामीलाई धेरै भाषण भूषण होइन, परिणाम चाहिएको छ’, मन्त्री किराँतीले भने, ‘परिणाम बाहेक जनतालाई चिल्लो, मिठो र गुलियो कुराको आवश्यकता छैन, परिणामका निम्ति हामी सबै लाग्नु पर्नेछ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसद्मा गरेको भाषण र सचिवालयलाई दिएको निर्देशनको आधारमा नेपाल सरकारले एकीकृत कार्य योजना बनाउँदै गरेको बताए । मन्त्री किराँतीका अनुसार त्यो कार्य योजनामा धेरै कुरा छन् र जनतासँग जोडिएका सुशासनका कुराहरू पनि छन् ।
विदेशी पर्यटकहरू नेपाल आउँदा भोग्नु पर्ने झन्झटिला कुराहरू र सारा पर्यटन व्यवसायमा देखिएका समस्या पनि त्यसमा समेटिएको उनको भनाई छ । मन्त्री किराँतीले एकीकृत कार्य योजना लागू भएपछि देशमा सुशासनको प्रत्याभूति, विधिको शासन र अराजकताको अन्त्य हुनेमा ढुक्क रहेको बताएका छन् ।
उनले धार्मिक, संस्कृति र पर्यटन सम्बन्धी कार्य योजना एउटा वडा तथा एउटा पालिकाको मात्र नभएर सिङ्गो झापा जिल्लाको बनाएर चैत्र २५ गतेभित्र मन्त्रालयमा पठाए रातो किताबमा राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।