२०८३ बैशाख २६ गते , शनिबार

राष्ट्रपति निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु

sajilo news
झापा
२०७९ फाल्गुन २२ गते , सोमबार
राष्ट्रपति निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु

राष्ट्रपति निर्वाचनअन्तर्गत सोमबार राति १२ बजे मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले विज्ञप्ति जारी गरी सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न नपाइने जनाएको हो।

‘मतदान  हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ।’ 

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन। 

यस्तै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत–हारको पूर्वानुमान सामग्री प्रसारजस्ता कार्य गर्न पाइँदैन। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।  

सम्बन्धित समाचार