प्रचण्डका पक्षमा माओवादीले कार्यकर्ता उतार्दै (विज्ञप्तिसहित)
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा हत्या अभियोगसहितको मुद्दा दर्ता गरिएकोमा त्यसको प्रतिवाद गर्न पार्टीले कार्यकर्ताहरूलाई अपिल गरेको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाले यस्ता गलत क्रियाकलापको विरुद्धमा सशक्त प्रतिवाद गर्नका लागि पार्टीसम्वद्ध सबै सङ्गठनलाई अपिल गरेको हो । यस्तो गलत निर्णय सच्याई बृहत् शान्ति सम्झौताको अक्षरशः पालना गर्न जिल्ला समितिले सचेतसमेत गराएको छ ।
संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडूद्वारा जारी विज्ञप्तिमा दश वर्षे जनयुद्धको क्रममा भएका घटनाहरूको सम्बन्धमा बृहत् शान्ति सम्झौताले निर्देशित गरेबमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई उक्त आयोगले सङ्क्रमणकालीन न्यायिक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशील भइरहेको परिप्रेक्षकमा उक्त आयोगको अधिकार क्षेत्र भित्रका विषयहरूलाई प्रतिकुल असर पर्ने गरी कुनै पनि अधिकार क्षेत्र ग्रहण गर्न, कारबाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरणसहित सचेत गराइएको छ ।
सङ्क्रमणकालीन न्यायको मूल्य मान्यता विपरीत हुने कार्यहरू र गतिविधिले मुलुकमा स्थापित शान्ति प्रक्रियामा गम्भीर चुनौती हुने हुँदा नेपालमा हाल स्थापित शान्ति सम्झौताका पक्षधर राजनीतिक पार्टीहरू, शान्ति पक्षधर आम जनसमुदाय एकजुट हुन विज्ञप्तिमा आह्वान गरिएको छ ।
