बेलारुसकी विपक्षी नेतृ सियात्लानालाई १५ वर्ष जेल सजाय
मिन्स्क । बेलारुसकी विपक्षी नेतृ सियात्लाना जिखानासकयालाई १५ वर्ष जेल सजाय सुनाइएको छ । सियात्लानालाई देशद्रोह र सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको हो । छिमेकी देश लिथुआनियामा निर्वासित जीवन बिताइरहेकी ४० वषीर्या सियात्लानालाई उनको अनुपस्थितिमा उक्त सजाय सुनाइएको हो ।
प्रजातन्त्रका पक्षमा गरेको वकालतको बदलामा आफूलाई दण्डित गरिएको उनले प्रतिक्रिया दिइन् । उनले सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग प्रतिस्पर्धा गरेकी थिइन् । धाँधली भएको आरोप लगाइएको उक्त निर्वाचनमा लुकासेन्को अत्यधिक मतका साथ विजयी भएका थिए्। लुकासेन्कोको विवादास्पद विजयको विरोधमा चर्किएको आन्दोलनमाथि प्रहरीले दमन गरेर ३५ हजारभन्दा बढीलाई गिरफ्तार गरेको थियो ।
उक्त आन्दोलनमा थुप्रै विपक्षी नेता तथा अभियानकर्ता समातिएका थिए भने सियात्लानालगायत नेताहरू भागेर छिमेकी देश लिथुआनिया पुगेका थिए । निर्वासनमा गएका नेताहरूविरुद्ध देशद्रोह र असंवैधानिक तरिकाले सत्ता कब्जा गर्न खोजेको अभियोगमा मुद्दा चलाइएको थियो ।
केही दिनअघि मात्रै बेलारुसकै एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेसलाई सरकारविरोधी प्रदर्शनलाई आर्थिक सहयोग गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको थियो । लुकासेन्को करिब तीन दशकदेखि सत्तामा रहेका छन् ।