वीरेन्द्र माविको वार्षिक उत्सव सम्पन्न
भद्रपुर । भद्रपुरस्थित वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढीले आफ्नो स्थापनाको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
विद्यालय प्राङ्गणमा सोमवार आयोजित कार्यक्रमको उद्घाटन भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोखरेले उद्घाटन गरेका थिए । सो कार्यक्रममा विभिन्न दाताहरूलाई सम्मानसँगै उत्कृष्ट छात्राछात्रलाइ छात्रवृत्ति प्रदान गर्दै पुरस्कृत गरिएको हो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक खिलाराज कोइरालाले विद्यालयको स्थापना देखि हाल सम्मका गतिविधिका बारेमा प्रकाश पार्दै वर्तमान परिस्थितिमा विद्यालयका चुनौती र भावी कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेर पुरस्कृत गरिएको थियो ।
सो अवसरमा विद्यालयलाई सहयोग पुर्याउने माछापुच्छ्रे बैङ्क र नेपाल टेलिकम चन्द्रगढी लगायत दर्जनौँ दाताहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
उत्कृष्ट छात्र छात्रलाई धर्म प्रसाद घमचन्द्र स्मृति छात्रवृत्ति, स्वर्गीय डिल्लीप्रसाद भट्टराई स्मृति कोष छात्रवृत्ति, स्व विधानाथ पवित्रा देवी तिम्सिना अक्षयकोष र केशर जमुना स्मृति छात्रवृत्ति पुरस्कारबाट छात्रवृत्ति पुरस्कार वितरण गरिएको प्रअ कोइरालाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, शिक्षा समन्वयन इकाई समिति झापा प्रमुख राजकुमार विक, बसन्ती रंजीतकार, राजेन्द्रप्रसाद दाहाल, शिक्षक महासंघ भद्रपुर अध्यक्ष गणेश गिरी, पूर्व प्रअ टङ्कनाथ शर्मा पाण्डे, बाल क्लब अध्यक्ष प्रशिका खड्का लगायतले मन्तव्य राखेका थिए ।
शिक्षक गिरिधर शर्मा कट्टेलले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका मञ्जु दाहालले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरूबाट लघु नाटक लगायतका विभिन्न गीत तथा नृत्य सहितको भव्य सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।