उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ। बुधबार पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने निर्णय गरेको हो।
उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा तटस्थ बस्ने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै बैठकले किसानले रसायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय र अनुचित रहेको निश्कर्ष निकाल्दै यो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपुर्ति समस्याको दीर्घकालीन समाधान खोज्न देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया थाल्न सरकारको ध्यानाकर्षण गराएको छ।
रसायनिक मल सम्बन्धमा पार्टीका ७७ जिल्ला समितिबाट एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गरेको पनि श्रेष्ठले बताए।
बैंकको ब्याज बढ्दा साना उद्योगी, व्यवसायी, किसानलगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक असर परिरहेको जनाउँदै बैंक तथा वित्तीय संस्थाले ऋणीसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।