युरोप छिर्न लागेका १२ सय आप्रवासीको उद्धार
काठमाडौं । इटलीले दुईवटा डुंगामा कोचाकोच भएर सामुद्रिक मार्ग हुँदै युरोप छिर्न लागेका झण्डै १२ सय आप्रवासीलाई बचाउन ठूलो उद्धार अभियान चलाएको छ।
सिसिली तटीय क्षेत्रमा इटलीको तट रक्षक दस्ताले उद्धार अभियान चलाइरहेको र पुराना डुंगामा सवार कयौँ व्यक्तिको उद्धार गरिएको बीबीसीले जनाएको छ। माछा मार्ने एक डुंगामा झण्डै ८ सय र अर्को डुंगामा झण्डै ४ सय आप्रवासी सामुद्रिक मार्गबाट जोखिम यात्रा गरिरहेको सूचनाको आधारमा तट रक्षक उद्धारमा खटिएको हो। ती आप्रवासीहरु लिबियाको तोब्रुकबाट इटली प्रवेश गर्न खोजिरहेका थिए।
तट रक्षकले घेरा हालेका डुंगामा कम्तीमा २ जना मृत अवस्थामा फेला परेको र कयौँको अवस्था चिन्ताजनक रहेको त्यहाँको एक गैर नाफामुलक संस्था रेस्क्युशिपले जनाएको छ।
इटलीले गत शुक्रबार यतामात्रै २ हजारभन्दा बढीको उद्धार गरिसकेको छ। जर्मनीको गैर सरकारी सस्था सी–वाच इन्टरनेशनलले गैरकानूनी रुपमा युरोप छिरिरहेका आप्रवासी सवार डुंगालाई सहयोग नगर्ने माल्टा सरकारको आदेश विपरित सहयोग गरिएको बताएको छ।
उसले माल्टिज जल क्षेत्रमा पुगेका डुंगामा इन्धन र खानेपानी उपलब्ध गराइएको बताएको छ। यसबारे माल्टा सरकारले कुनै प्रतिक्रिया जनाएको छैन।