अर्जुनधारा डान्स एन्ड सिङ्गिङ् स्टारको अडिसन सुरु
अर्जुनधारा डान्स एन्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधवारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो ।
खुदुनाबारी बजारस्थित जनता माध्यमिक विद्यालयको सभा हलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । आज भएको अडिसनबाट गायन तर्फ १० जना र नृत्य तर्फ १६ जना गरी जम्मा २६ जना प्रतियोगी छनोट गरिएको प्रतियोगिताको आयोजक संस्था सारेगम कला केन्द्रका सञ्चालक तथा प्रतियोगिता संयोजक सन्तोष आले मगरले जानकारी दिए ।
अडिसनमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका ३२ जनाले आफ्नो प्रस्तुति दिएका थिए । ३२ मध्ये उत्कृष्ट २६ जनालाई दोस्रो चरणकालागि छनोट गरिएको हो । बुधवारको अडिसनमा गायन तर्फ सङ्गीत प्रशिक्षक दीपक रायमाझी र नृत्य तर्फ नृत्य प्रशिक्षक तथा नेपाल चलचित्र नृत्य संघको कोसी प्रदेश संयोजक राज लावतीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको अडिसन राउन्डको एक औपचारिक कार्यक्रमकाबिच संविधानसभाका सदस्य प्रेम गिरीले उद्घाटन गरेका थिए । नगरभित्र रहेका बालबालिका तथा युवाहरूलाई लक्षित गरी प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक सन्तोष आलेले बताए । नेपाली लोक कला, साहित्य सङ्गीत तथा संस्कृतिको संरक्षणसँगै सङ्गीतको माध्यमबाट युवाहरू जागरुप गर्ने उद्देश्य रहेको उनले बताए ।
प्रतियोगिताको पहिलो चरणमा चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म चार वटा वडामा अडिसन हुनेछ । जस अन्तर्गत चैत्र ३० गते भोलि वडा नम्बर ६, ८ र ९ का लागि पहिलो चरणको अडिसन हुने छ । बिहीबारको अडिसन शनिश्चरे मा.वि.को सभा हालमा हुने छ । त्यस्तै वडा नम्बर ४, ५ र ७ का लागि बैशाख २ गते सूर्य ज्योति स्कुलमा पहिलो चरणको अडिसन हुने छ । यस्तै वडा नम्बर १० र ११ का लागि बैशाख ३ गते सालवारि मा.वि.मा पहिलो चरणको अडिसन हुने आयोजकले बताएको छ । प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरूले प्रतिस्पर्धा गर्न पाउने छन् ।
पहिलो चरणको अडिसनबाट दोस्रो चरणका लागि ११० जना, दोस्रो चरणबाट तेस्रो चरणका लागि ५० जना र तेस्रो चरणबाट चौथो चरणका लागि २५ जना छनौट गरिने छ । छनौट भएका टप २५ को प्रस्तुति युट्युबमार्फत सार्वजनिक गर्ने र उनीहरूले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ ।
गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने छ । ‘अर्जुनधारा डान्स एन्ड सिङ्गिङ् स्टार–२०७९’ को चौथो चरणसम्मका निर्णायकहरूमा गायनतर्फ दीपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज लावती, रोहित लाम्गादे र अञ्जली माझी रहने बताइएको छ । फाइनलको लागि राष्ट्रियस्तरमा चर्चित निर्णायकहरू रहने आयोजकले बताएको छ ।
सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वर्ल्ड डान्स कम्पनी एन्ड साउन्डको सह–आयोजनामा सञ्चालन भएको प्रतियोगितालाई अर्जुनधारा नगरपालिले विशेष सहयोग गरेको छ ।