२०८३ बैशाख २६ गते , शनिबार

अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्नु निन्दनीय : एमाले

sajilo news
झापा
२०८० बैशाख १४ गते , विहीबार
अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्नु निन्दनीय : एमाले

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाको बुधबारेमा कालो झन्डा देखाएर अभद्र व्यवहार गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी झापाले विरोध जनाएको छ ।

अध्यक्ष ओलीलाई अपराह्न बुद्धशान्तिको कार्यक्रममा जाने क्रममा कोसी प्रदेश नामकरणको विरोध गर्दै पहिचानवादीहरूले कालो झन्डा देखाएका थिए।

शान्तिपूर्ण विरोध गर्ने भने पनि प्रदर्शनकारीहरूले ओली र उनका सुरक्षामा खटिएका प्रहरीका सवारीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर तनावग्रस्त बनेको थियो।

एमाले जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचित ९० प्रतिशत प्रदेश सांसदहरूको समर्थनमा कोसी प्रदेश नामकरण गरिएको भए पनि अध्यक्ष ओलीप्रति अभद्र व्यवहार गर्नु निन्दनीय भएको उल्लेख छ। साथै विज्ञप्तिमा त्यस्ता अराजक गतिविधि गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न र सुरक्षा प्रदान गर्ने क्रममा घाइते प्रहरीको उपचार गर्न माग गरिएको छ।

त्यस्तै एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालले यस किसिमको अराजक गतिविधिको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गरी अध्यक्ष ओलीमाथि भएको आक्रमणको घोर निन्दा गर्दै यस किसिमको अराजक गतिविधिको सशक्त प्रतिवादको तयारीमा रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उता प्रदेश नं १ पुनः नामाङ्कन सङ्घर्ष समितिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चन्द्रगढीमा राखिएका मित्र लिङ्देन र बुलेट राईलाई विनाशरत तुरुन्त रिहाइ गर्न माग गरेको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गरी कोसी प्रदेश नाम राख्न निर्देशन दिने मूल नेतृत्व एमाले अध्यक्ष ओलीको कार्यक्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले धरपकड गरेको दाबी गरेको छ ।

सम्बन्धित समाचार