कचनकवलमा ४० जनालाई शिक्षा सेवा तयारी कक्षा प्रदान
भद्रपुर । शिक्षक सेवा आयोगअन्तर्गतको परीक्षा नजिकिइरहेको बेला झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा परीक्षाको तयारी गरिरहेका ४० जनालाई तयारी कक्षा सञ्चालन गरिएको छ ।
परीक्षाका लागि थप सहयोग पुर्याउने उद्देश्यले बिर्तामोडस्थित नोभा एजुकेसन फाउन्डेसनसँगको समन्वयमा कचनकवल गाउँपालिकाले सबै वडा समेटिने गरी ४० जनालाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको हो ।
कचनकवल–३ पथरियास्थित लक्ष्मीप्रसाद देवकोटा माविमा सञ्चालन गरिएको एक महिना लामो सो कक्षाको आज एक समारोहका बीच समापन गरिएको छ ।
समापनका अवसरमा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले शिक्षाका लागि आफ्नो ठाउँबाट दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले शिक्षक सेवा कक्षामा लगानी गरेको बताउँदै सिकेको ज्ञानलाई परीक्षामा उपयोग गर्दै सफल बन्न परीक्षार्थीहरूलाई शुभकामना दिए ।
समारोहकी प्रमुख अतिथि गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिरादेवी यादवले उचित समयमा गाउँपालिकाले युवाहरूलाई शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गरेको भन्दै गाउँपालिकाको लगानी खेर जान नदिन परीक्षार्थीहरूलाई आग्रह गरिन् ।
नोभा शिक्षक सेवा आयोग संयोजक देवीप्रसाद गौतमले सञ्चालन गरेको समापन समारोहमा नोभा एजुकेसन फाउन्डेसनका व्यवस्थापक प्रकाश पराजुलीले कक्षा सञ्चालनका क्रममा परीक्षाका लागि आवश्यक अधिकतम शैक्षिक सामग्री उपयोग गरिएको भन्दै एक महिनामा शिक्षा र सामान्य ज्ञानसम्बन्धी ५० भन्दा बढी सेसन सञ्चालन गरिएको बताए । उनले कक्षामा अनुभवी प्रशिक्षकहरू सहभागी गराइएको पनि बताए । प्रशिक्षणलाई बिर्तामोडस्थित लाइमलाइट एजुकेसनका कार्यकारी प्रमुख टेकनाथ शर्मा वाग्लेले पनि सहजीकरण गरेका थिए । पराजुलीले गाउँपालिकाकै आर्थिक सहयोगमा ६० जनालाई लोक सेवा आयोगको कक्षा पनि सञ्चालन भइरहेको जानकारी दिए ।