इस्टु भद्रपुरको अध्यक्षमा ढुङ्गाना
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनले विदुर ढुङ्गानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ ।
३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव रमेश भट्टराई, सहसचिव उमेश दाहाल र कोषाध्यक्षमा मदनबहादुर थापा सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा क्रमशः सान्त्वना सापकोटा, रक्षा विश्वास, राजा मण्डल, रोशा भट्टराई, पूजा कामती, सन्तोषी शाह, बविता यादव, निर्मला भण्डारी चुँडाल, रविन पोखरेल, मनिष पोखरेल, र शनिलाल राजवंशी रहेका छन् भने बाँकी रहेका सदस्यहरूको मनोनयन समितिले गर्ने छ ।
नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा धारणा राख्दै नगर प्रमुख पोखरेलले भद्रपुरमा देखिएका निजी विद्यालय भित्रका समस्या, शिक्षक कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा ऐन नियमको पालना गराउन नगर सरकार प्रतिबद्ध रहेको धारणा राखेका थिए ।
यस्तै भद्रपुर- ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले संस्थागत विद्यालयलाई अहोरात्र खटिएर उन्नत बनाउने शिक्षक कर्मचारी शोषणमा पर्नु नहुने भन्दै श्रमको सम्मान गर्न आग्रह गरेका थिए ।
इस्टुका जिल्ला अध्यक्ष होमराज खतिवडाले सहमति र सहकार्यबाट संस्थागत विद्यालय सञ्चालक पछि हटेको कारण प्याब्सन एन प्याब्सन नेतृत्वसित गरिएको विगतको सहमति कार्यान्वयन नभएको स्मरण गराउँदै अविलम्ब सहमति कार्यान्वयन नगरिए जिल्लाव्यापी आन्दोलनको वातावरण तयार हुने चेतावनी बताएका छन् । उनले संस्थागत विद्यालयहरूलाई संस्थागत बनाउन स्थानीय सरकार पहिलो जिम्मेवार निकाय भएको भन्दै श्रम शोषणको वातावरण रोक्न माग समेत गरेका थिए ।
त्यस्तै भद्रपुर- ८ स्थित सिद्धार्थ शिशु सदनका प्रबन्ध निर्देशक प्रकाश भण्डारीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको समस्या मात्र नभएर विद्यालयका पनि धेरै समस्या रहेकाले मिलेर अगाडि बढ्नुको विकल्प नरहेको प्रस्ट पारेका थिए ।
सचिव खिलनाथ पाण्डे निकासले सञ्चालन गरेको कार्यक्रममा इस्टुका कोसी प्रदेश सहसचिव राजु बराल, जिल्ला सल्लाहकार समिति सदस्य देवीप्रसाद सुवेदी, कचनकवल अध्यक्ष घनश्याम अर्याल लगायतले मन्तव्य राख्दै बौद्धिक श्रमिकको परिचय पाएका संस्थागत विद्यालयका शिक्षक कर्मचारीको श्रममाथि शोषण गर्ने प्रवृत्ति अन्त्य हुनु पर्ने धारणा राखेका थिए भने स्वागत विदुर ढुङ्गानाले गरेका थिए ।