पहिचान पक्षधरसँग वार्ता गर्न प्रदेश सरकारद्वारा वार्ता टोली गठन
झापा । पहिचान पक्षधरसँग वार्ताका लागि अल्पमतमा परेका प्रदेश सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको हो ।
बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ । वार्ता टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला रहेको बैठकले निणर्य गरेको हो ।
मुख्यमन्त्री कार्कीले जेठ १५ गते पहिचान पक्षधरलाई वार्ताका लागि आह्वान गरेका थिए । कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशको नामकरण भएदेखि सशक्त आन्दोलन गर्दै आएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते कोशी प्रदेश नामकरण गरेका थिए ।