भद्रपुरको शिक्षामा बेथिति, दिवा खाजामा १५ लाख ५६ हजार अतिरिक्त भुक्तानी
भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयहरूलाई दिवा खाजामा अतिरिक्त भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षक कार्यालयले भर्खरै जारीको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदनमा नगरपालिकाले ३१ वटा सामुदायिक विद्यालयलाई एक करोड ५८ लाख ७ हजार ७१५ भुक्तानी गरेकोमा १५ लाख ५६ हजार ५६७ रुपैयाँ अतिरिक्त भुक्तानी गरेको उल्लेख गरेको छ । सो रकम विद्यालयहरूबाट असुल गरी सङ्घीय संचित कोषमा दाखिला हुनुपर्ने प्रतिवेदनमा भनिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम २९ (१०) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने विल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने समेत उल्लेख छ । त्यस्तै विद्यालयको आन्तरिक लेखा परीक्षण कार्यक्रम कार्यान्वयन पुस्तिका २०७८। ७९ को क्रियाकलाप नम्बर २.७.१३.१० मा विद्यालय सञ्चालन तथा व्यवस्थापन
अनुदान अन्तर्गत विद्यालयहरूको आर्थिक लेखा परीक्षण गराउनका लागि आधारभूत तहका विद्यालयहरूलाई रु १० हजार र माध्यमिक तहका विद्यालयलाई रु १५ हजार अनुदान दिने व्यवस्था छ । पालिका अन्तर्गत सञ्चालित ३१ बटा सामुदायिक विद्यालयहरूलाई लेखा परीक्षण बापतको अनुदान रकम भुक्तानी दिए पनि पालिकाका कुनै पनि विद्यालयले अन्तिम लेखा परीक्षणको दिनसम्म पनि सामाजिक र आर्थिक लेखा परीक्षण गराएको पाइएन । विद्यालयको आय व्ययको आन्तरिक लेखा परीक्षण समयमै गराई नगरपालिकाको कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्दछ भनी महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
कुन विद्यालयले कति रकम संचित कोषमा दाखिला गर्नुपर्ने हेर्नुहोस् (सूचिसहित)