पनडुब्बीमा टाइटानिकको भग्नावशेष हेर्न गएका ५ यात्रु बेपत्ता
वासिङटन डिसी । पर्यटकका लागि विश्वकै चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न बाहिरिएको पनडुब्बीमा अब ३० घण्टा मात्रै अक्सिजन बाँकी छ ।
यस पनडुब्बीमा सवार पाँच जना यात्रु आइतबारदेखि बेपत्ता छन् । पनडुब्बीमा पाकिस्तानमा जन्मेका अर्बपति व्यापारी शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, बेलायती अर्बपति व्यापारी हमिस हार्डिङ, फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट र साहसिक यात्राको व्यवस्थापन गर्ने कम्पनीका प्रमुख कार्यकारी स्टकटन रश छन्।
अमेरिकी कोस्ट गार्डको खोजी अभियान २० हजार वर्ग किलोमिटरभन्दा ठूलो समुन्द्रमा चलिरहेको छ । यसमा क्यानेडियन नेवी, एयर फोर्स र कोस्ट गार्डसँगै न्यूयोर्क एयर नेशनल गार्डले पनि सहयोग गरिरहेको छ ।
अमेरिकी कोस्ट गार्डको अनुमान अनुसार पनडुब्बीमा करिब ३० घण्टाका लागि मात्र अक्सिजन बाँकी छ । आइतबार यात्रा सुरु भएको एक घण्टा ४५ मिनेटपछि पनडुब्बी सम्पर्कविहीन भएको थियो । खोजी कार्यमा दुईवटा सी–१३० विमान र सोनारको सहयोग लिइएको छ ।
टाइटानिकको भग्नावशेष हेर्न कति पैसा चाहिन्छ ?
आठ दिनको यो यात्राका लागि साढे दुई लाख डलरको टिकट खरिद गर्नु पर्छ। यस यात्रामा टाइटानिकको भग्नावशेष समुन्द्रमा ३८०० मिटर तल गएर हेर्न सकिन्छ ।
ओसियनगेट कम्पनीको एक विज्ञापन अनुसार यो आठ दिनको यात्रा सामान्य जीवनबाट बाहिर निस्कने र केही असाधारण कुरा पत्ता लगाउने मौका हो भनिएको छ।
यो सानो पनडुब्बीमा एक पाइलट र तीन टिकट खरिद गर्ने अतिथि यात्रु हुन्छन्। उनीहरु बाहेक पनडुब्बीमा विज्ञ पनि रहने कम्पनीले जनाएको छ ।
यो मिसन न्यूफाउन्डल्याण्डमा सेन्ट जोन्सबाट सुरु हुन्छ। कम्पनीको वेबसाइटका अनुसार कम्पनीका तीनवटा पनडुब्बी छन्, जसमध्ये अहिले हराइरहेको टाइटनमा मात्र यति गहिराइमा जान सक्ने क्षमता छ।
यो पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र वेवसाइटका अनुसार १३ हजार १०० फिटको गहिराइमा जान सक्छ । पनडुब्बीमा ९६ घण्टा अक्सिजन सपोर्ट हुन्छ।
टाइटानिक जहाज सन् १९१२ मा न्यूयोर्कमा आफ्नो पहिलो यात्राको क्रममा डुबेको थियो। यो उक्त समयको सबैभन्दा ठूलो जहाज थियो। यसमा भएका २२०० यात्रु र चालक दलका सदस्यहरू मध्ये १५०० भन्दा बढी मृत्यु भएको थियो। यस जहाजको भग्नावशेष पहिलो पटक सन् १९८५ मा फेला परेको हो।