कचनकवल गाउँपालिकाले मर्मत सम्भारको नाममा एक वर्षमै सके २२ लाख रुपैयाँ
झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले सवारीसाधन मर्मत खर्चमा २१ लाख ९८ हजार २४१ रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालय भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा सो रकम खर्च गरेको उल्लेख गरेको छ ।
गाउँपालिकामा एउटा स्कर्पियो, एउटा व्याकलोडर, २० मोटरसाइकल र एउटा स्कुटर लगायत अन्य स्थिर सम्पत्तिहरू रहेको छ । यो वर्ष मेशिनरी, सवारी साधन मर्मत र निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार शीर्षकमा र मेशिनरी तथा औजार
मर्मत सम्भार सञ्चालन २१ लाख ९८ हजार २४१ खर्च लेखेको देखिन्छ । सो रकम अधिकांश गाडी र मोटरसाइकलमा मर्मतमा खर्च गरेको देखिन्छ। महालेखा परीक्षकबाट स्वीकृत ढाँचामा मर्मत सम्बन्धी अभिलेख नराखेकोले कुन कुन सवारीसाधन, मोटरसाइकल, प्रिन्टर, इन्भर्टर लगायत कार्यालयको जिन्सी मर्मत खर्च गरिएको हो सो यकिन गर्न सकिएन ।
गाडी र मोटरसाइकल सङ्ख्याको आधारमा मर्मत खर्च अधिक देखिएको छ । मर्मत अभिलेख अनिवार्य रूपमा राखी मर्मत खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।