नौमती सांस्कृति धरोहर केन्द्र निर्माण हुने, सबै जातिको संरक्षण गर्छौँ– मुख्यमन्त्री गोले
नेपाली संस्कृतिको संरक्षणमा सिक्किम सरकारको अग्रसरता
नेपालीहरूको पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न सिक्किम सरकार जुटेको छ । नेपाली बाजाहरूको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले आठ करोड २१ लाख रुपैंयाको लागतमा नौमती सांस्कृति धरोहर केन्द्र निर्माण गर्ने भएको छ ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत् शिलान्यास गर्दै विश्वमै पहिलो पटक सिक्किममा नौमती सांस्कृति धरोहर निर्माण हुन लागेको बताए । उनले भने– यो धरोहर केन्द्र विश्वकै लागि एउटा अनुसन्धान केन्द्र बन्ने छ । यसले नेपालीहरूको बाजाहरूको संरक्षण मात्र नगरी विश्वलाई नै पर्यटकीय गन्तव्य बनाउने छ ।
१.६७ एकर जमिनमा स्थापना हुने यो सांस्कृतिक धरोहर केन्द्र आफ्नो प्रकारको विश्वको पहिलो नौमती संरक्षण केन्द्र हुने दाबी गरिएको छ । परियोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री तामाङले यसको भूमि पूजन पनि गरेका थिए ।
आगामी दुई वर्षमा निर्माण कार्य पूरा हुने बताइएको यस नौमती धरोहर सांस्कृति केन्द्र निर्माणको निम्ति सिक्किम सरकारको सांस्कृतिक एवम् धरोहर मामिलाले पहिलो चरणमा आठ करोड २१ लाख रुपैंया बजेट विनियोजन गरेको बताइएको छ । परियोजना अन्तर्गत कूल आठ वटा दुई तल्ले भवन निर्माण हुनेछ जसमा मनोरञ्जन तथा व्याख्यान केन्द्र, पाँच वटा लाइभ वर्कसप, रेस्टुराँ, एकसाथ एक सय ५० जना अटाउने बहुदेश्य हल, इण्डोर स्पोर्ट्स कक्ष, यूथ होस्टेल, ओपन एयर थिएटर, कार पार्किङ, पारम्परिक प्रवेश द्वार, रेन वाटर हार्भेस्टिङ ट्याङ्क आदि निर्माण गरिने बताइएको छ ।
तीन दिवसीय गेजिङ जिल्लाको भ्रमणका क्रममा मुख्यमन्त्री पीएस गोलेले पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको मार्ताममा नौमती सांस्कृतिक तथा धरोहर केन्द्र निर्माण गर्ने बताएका हुन् । एउटा सङ्ग्रहालय सहित पाँच वटा विभिन्न प्रशिक्षण कक्ष रहने धरोहरमा काठ र बाँसबाट वाद्यवादन तयार पार्ने साथै मूर्ति कलाको पनि प्रशिक्षण दिइनÞ संस्कृति विभागकी मुख्य अभियन्ता प्रज्ञा सिंहले जानकारी दिइन् ।
प्रत्येक जात–जातिको चिनारी, धरोहर तथा विरासतको संरक्षण गर्दै सिक्किमलाई सबैको आकर्षणको केन्द्र बताउन वर्तमान सरकार लागि परेको मुख्यमन्त्री गोलेको भनाई छ । उनले सिक्किम कला र संकृतिको पनि धनी भएको उल्लेख गरे । अनुसूचित जातिलाई गर्व गर्न सक्ने बनाउन वर्तमान सरकार लागेको मन्त्री गोलेको भनाई छ ।
उनले अनुसूचित जातिलाई वर्तमान सरकारले संरक्षण गर्दै सबै जाती र भाषा तथा कलाको संरक्षणका लागि एसकेएम पार्टी अग्रसर रहेको धारणा व्यक्त गरे । उनले अघिल्लो सरकारले २५ वर्षसम्म गर्न नसकेको काम वर्तमान सरकारले चार वर्ष भित्र पुरा गरेको मुख्यमन्त्री गालेको भनाई छ । उनले सिक्किमेली नेपालीलाई पटक–पटक लाग्ने गरेको विदेशीको कलङ्कलाई पनि वर्तमान सरकारले सधैँका लागि हटाउने कार्य गरेको ठोकुवा गर्दै यस अघिको सरकारले यसलाई हटाउने कार्य नगरेर केवल राजनीतिक मुद्दा बनाउने काम गरेको आरोप लगाए ।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले हरेक जातिलाई एक सूत्रमा बाँध्ने कार्य गरेको भन्दै मुख्यमन्त्री गोले प्रत्येक जातिको कार्यक्रम आयोजन गर्नका लागि राज्य सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराउने काम बताए । उनले प्रत्येक जात–जातिको चिनारी, धरोहर र विरासतको संरक्षण गर्नु नै वर्तमान सरकारको उद्देश्य रहेको उल्लेख गरे ।
पूर्व मुख्यमन्त्री पवन चाम्लिङले दार्जिलिङमा गएर सिक्किममा असुरक्षित महसुस भएको भन्दै दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री गोले भने– चाम्लिङ रुन्चे नेता हो । पूर्व मुख्यमन्त्री चाम्लिङले सिक्किमको बदनाम गरेको भन्दै कडा आलोचना गरे ।
कार्यक्रममा सांस्कृतिक मामिला विभागका मन्त्री साम्डुप लेप्चाले नेपालीहरूको भाषा र संकृतिको संरक्षण गर्दै विश्वभरका नेपालीका लागि सिक्किम अनुसन्धान केन्द्रको रुपमा विकास गर्न वर्तमान सरकार लागेको बताए ।
लोप हुन लागेको लोक संकृतिको संरक्षण गर्न विश्वमै पहिलो पटक सिक्किम अग्रसर भएको क्षेत्र विधायक तथा मन्त्री लोकनाथ शर्माले उल्लेख गरे । बाजाहरूको राजाको रुपमा रहेको नौमती बाजासहित सम्पूर्ण नेपाली लोक बजाहरुहरुको संरक्षण गरिने शर्माले जानकारी दिए । कार्यक्रममा नेपालसहित भारतका विभिन्न राज्यबाट सांस्कृति झाँकीहरू प्रस्तुत गरिएको थियो । सिक्किम सरकारले नेपाली भाषा र संस्कारको संरक्षणका लागि पहल गरिरहेकाले नेपालसँग पनि साझेदारी गर्न तयार रहेको उल्लेख गरेको छ ।