अमेरिकी वाणिज्य दूतावासनजिक गोली चल्दा एक नेपालीको मृत्यु
साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ। हतियारधारी आक्रमणकारीको पनि मृत्यु भएको छ।
दोहोरो गोली हानाहानमा गम्भीर घाइते भएका वाणिज्य दूतावासका सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको साउदीको मक्का प्रहरीले जनाएको छ।
कारमा आएका एक हतियारधारी जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए। त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो। गोली लागेर घाइते नेपाली सुरक्षा गार्डको निधन भएको साउदी प्रेस एजेन्सी ९एसपीए० ले जनाएको छ। आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ। उनको नेपालको ठेगाना भने खुलेको छैन्।
जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास सन् २०१६ मा पनि निशानामा परेको थियो। अमेरिकी दूतावास नजिकै एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए।