२०८३ बैशाख २४ गते , विहीबार

झापामा एमालेभित्र गुट गर्न दिन्न : इन्चार्ज भट्टराई

sajilo news
झापा
२०८० असार १४ गते , विहीबार
झापामा एमालेभित्र गुट गर्न दिन्न : इन्चार्ज भट्टराई

बिर्तामोड । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराईले झापामा गुटबन्दी गर्न नदिने बताएका छन् । उनले झापामा गुटबन्दीका कारण पार्टी समस्यामा परेको भन्दै अबका दिनमा गुटबन्दी गर्न नदिने बताएका हुन् । 

७२ औं मदन जयन्तीका अवसरमा आज आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै इन्चार्ज भट्टराईले भने– झापामा गुट गर्न दिन्न । गुटबन्दीका कारण पार्टीलाई क्षति भइरहेकोले त्यस तर्फ सबै सचेत हुनुपर्ने बताए ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको आयोजनामा आयोजित विचार गोष्ठीमा बोल्दै नेता भट्टराईले पार्टी सदस्यता गोजीमा बोकेर अर्को पार्टीलाई भोट दिनेहरू पनि सच्चिनुपर्ने आग्रह गरेका छन् । एमालेको पार्टी सदस्यता गोजीमा राखेर अर्को पार्टीलाई मत दिनु आफैमाथिको चरम अन्याय भएको उनको धारणा थियो ।

मदन जयन्तीको अवसरमा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भट्टराईले जनताको बहुदलीय जनवादकै कारण एमाले स्थापित पार्टी बनेको बताए । एमाले जनता र देशको निमित्त लोकप्रिय हुनुको देन नै जनताको बहुदलीय जनवाद हो, उनले थपे ।

अहिले देशभर नयाँ पार्टीका नाममा विभिन्न भ्रम फैलाइरहेको भन्दै त्यस तर्फ नेता कार्यकर्तालाई सचेत रहन पनि आग्रह गरे । भट्टराईले भने – वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण छ । त्यसको सामना गर्न एमाले तयार छ । चुनौतीको बेला भाग्ने नेता कार्यकर्ता रहन सक्दैन । अहिलेको चुनौती सामना गर्ने तागत एमालेसँग भएको बताउँदै उनले जता हावा चल्छ, त्यतै लाग्न नहुने सुझाव दिए ।

प्रमुख अतिथि भट्टराईले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले धेरैभन्दा धेरै लोकप्रिय काम गरेर देखाउनुपर्ने बताएका छन् । नगर कमिटी अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको विचार गोष्ठी पार्टीका जिल्ला अध्यक्ष दीपक कार्की, प्रदेश कमिटी सदस्य रोमणि भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार