कोशी प्रदेशको बैठक सुरु
कोशी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। ११ बजेका लागि बोलाइएको बैठक करिब १ घण्टा ढिला गरी सुरु भएको हो। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने कार्यसूची छ। त्यसका लागि बैठकमा मुख्यमन्त्रीले जवाफ दिँदै छन् उनको जवाफलगत्तै प्रदेश सभामा मतदान प्रक्रिया सुरु हुनेछ।
बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो। आधा घण्टामा बैठक बस्न नसकेपछि साँझ ८ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो। तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सूचना निकालेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।
नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। ९३ सदस्यीय कोशी प्रदेश कार्कीलाई आफ्नो सरकार जोगाइ राख्न ४७ सांसदको समर्थन आवश्यक पर्छ। उनलाई नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन छ।
कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ सांसद गरी ४६ सांसदमा छन् भने प्रदेशको नामकरणलाई लिएर असन्तुष्ट जनाउँदै जसपाका १ सांसदले तटस्थ बस्ने बताएको छ।