२०८३ बैशाख १३ गते , आईतबार

मेची क्याम्पसको छात्रावास भवन प्रयोगविहीन, अझै आएन सञ्चालनमा

sajilo news
पत्रपत्रिका
२०८० असार २० गते , बुधबार
मेची क्याम्पसको छात्रावास भवन प्रयोगविहीन, अझै आएन सञ्चालनमा

भद्रपुर । भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भएको वर्षदिन बितिसक्दा पनि यहाँस्थित मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आउन सकेको छैन ।

क्याम्पस प्रशासनले समयमा छात्रावास सञ्चालनको कार्यविधि बनाउन नसक्दा र छात्रावास सञ्चालनमा तदारुकता नदेखाउँदा निर्धारित समयमा छात्रावास सञ्चालन हुन नसकेको हो । २१ कोठे दुई तले छात्रावास निर्माणको सम्झौता २०७६ माघ १३ गते भएको थियो । साह इन्जिनियरिङ कन्स्ट्रक्सनले ३ करोड ७७ लाख ७४ हजार ९५१ रुपैयाँमा ठेक्का लिएको सो भवन २०७९ बैशाख ११ गते निर्माणको सम्पूर्ण प्रक्रिया पूरा गरेर क्याम्पसलाई हस्तान्तरण गरेको थियो ।

पूर्वक्याम्पस–प्रमुख कमलप्रसाद गुरागाईँको कार्यकालमा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेको छात्रावास दुई वर्षभित्रमा सञ्चालनमा ल्याइने त्यसबेला बताइएको थियो । तर, क्याम्पसले भवन निर्माण शुरु भएको पाँच वर्षमा पनि छात्रावास सञ्चालन कार्यविधि बनाउन नसक्दा भौतिक संरचना निर्माण भए पनि यहाँ अध्ययनरत विद्यार्थीले सेवा पाउन सकेका छैनन् ।

भवन निर्माण सम्पन्न भए पनि अन्य थुप्रै काम बाँकी छन् । भवनको पछाडिपट्टि भान्सा घर निर्माण भइरहेको छ भने पानीको निकास नहुँदा भवन वरिपरि डुबान भएको छ । निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम पूरा गरेर हस्तान्तरण गरे पनि अन्य कामका लागि क्याम्पस प्रशासनले ढिलासुस्ती गरेको विद्यार्थीको भनाइ छ ।

नयाँ भवन बनेपछि सरसफाइ गरेर फर्निचर हाल्नुपर्ने हो, तर छात्रावासको कोठा सफा नगरी लोबेड र टेबल ल्याइसकिएको स्रोतले जनाएको छ । एक विद्यार्थी नेताले भने, ‘बाहिर सरसफाइको धेरै काम बाँकी छ, किचन बनिसकेको छैन, छात्रावास कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुंगो छैन । तर फर्निचर किन्न किन हतार भएको बुझ्न सकिँदैन ।’

क्याम्पस प्रशासनको चरम लापरबाहीका कारण करोडौँको लागतमा निर्माण भएको छात्रावास भवन सञ्चालनमा आउन नसकेको बताउँछन्, मेची बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघ इकाई सभापति किशोर ढुङ्गाना । ‘भवन बन्यो, तर सञ्चालन अघि गर्नुपर्ने धेरै काम बाँकी छन्, क्याम्पस प्रशासनलाई ती काम गर्नुभन्दा अगाडि फर्निचर ल्याउन किन हतार भएको हो, थाहा छैन !’, उनले भने, ‘छात्रावासको अहिलेको अवस्था गोदाम जस्तो छ, सरसफाइ छैन, फर्निचरले कोठा भरिएका छन्, क्याम्पस प्रशासनको काम गराइ बुझेर बुझिन सक्नु छ ।’

आउने शैक्षिक सत्रबाट छात्रावास सञ्चालन आउनै पर्ने बताउँछन्, मेची क्याम्पस स्ववियु सभापति पवन धमला । क्याम्पसले छात्रावास सञ्चालनको कार्यविधि र क्याम्पसको बजेट बनाउँदा समेत स्ववियुलाई नराखिएकोमा उनले आपत्ति प्रकट गरे । क्याम्पस प्रशासनले आफूखुसी निर्णय गर्ने गरेको बताउँदै उनले भने, ‘स्ववियु विद्यार्थीको छाता संगठन हो, विद्यार्थी हकहितका लागि क्याम्पसका हरेक निर्णयमा स्ववियुले अब आफ्नो भूमिका र उपस्थिति खोज्छ ।’ क्याम्पसले बजेट बनाउँदा समेत आफूखुसी निर्णय गरेर अन्तिम हस्ताक्षर गराएको उनले बताए । पछिल्लो समय क्याम्पसको प्रशासकीय व्यवस्थापन लापरबाही बन्दै गएको उनको भनाइ छ ।

यस विषयमा क्याम्पस–प्रमुख जीवन पोखरेलसँग जिज्ञासा राख्दा ‘अब यसै शैक्षिक सत्रको भदौ–असोजदेखि छात्रावास सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्रिवि.बाट प्राप्त हुनुपर्ने साढे ३ करोड रुपैयाँ नआएका कारण छात्रावास भवन तयार भए पनि सञ्चालनका लागि आवश्यक पर्ने अन्य तयारी र सामग्रीहरूको जोगाड गर्न ढिलाइ भएको हो । अन्य कुनै कारण छैन’ भनेका छन् । आजको सुखानी सन्देश साप्ताहिकमा खबर छ ।

सम्बन्धित समाचार