२०८३ बैशाख २४ गते , विहीबार

कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

sajilo news
झापा
२०८० असार २१ गते , विहीबार
कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोसी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। उनलाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य ९सांसद०को समर्थन छ। प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन्। 

संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो। प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए। गठबन्धनले समयसीमाभित्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेर थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो। 

मुख्यमन्त्रीमा नियुक्त भएका थापा कांग्रेस कोसी प्रदेशका सभापतिसमेत हुन्। झापाका उनी कांग्रेसका समानुपातिक सांसद हुन्। सरकार गठनमा सभामुखको प्रयोग संविधानविपरीत हुने भन्दै विरोध भइरहेको थियो। विरोधका वावजुत प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

सम्बन्धित समाचार