२०८३ बैशाख २४ गते , विहीबार

आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास छ : मुख्यमन्त्री थापा

sajilo news
झापा
२०८० असार २३ गते , शनिबार
आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास छ : मुख्यमन्त्री थापा

झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।  नेपाली काँग्रेस झापाद्वारा आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् । 

‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी सुरु हुनेछ’–थापाले भने–‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ ।’

विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने धारणा उनले राखेका छन् । सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धि भएको उनको भनाइ छ।

उपस्थित सम्पूर्णलाई नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईँले गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, नेपाली काँग्रेस केन्द्रीय सदस्य सुशीला ढकाल, गोमा भट्टराई, प्रदेशसभा सांसद गोपाल तामाङ र लख्खीदेवी गणेश, नेपाली काँग्रेस कोशी प्रदेश समितिका सदस्यहरू, पार्टीका जिल्ला पदाधिकारी, सदस्य, स्थानीय तहमा काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका विभिन्न तहगत समितिका पदाधिकारी–सदस्य एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार