२०८३ बैशाख २४ गते , विहीबार

भारतमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १६ मजदुरको मृत्यु

sajilo news
एजेन्सी
२०८० श्रावण १६ गते , मंगलबार
भारतमा पुल निर्माणका क्रममा गर्डर मेसिन खस्दा १६ मजदुरको मृत्यु

भारतको महाराष्ट्रस्थित ठाणे जिल्लामा गर्डर मेसिन खस्दा १६ जना मजदुरको मृत्यु भएको छ। सोमबार अबेर राति भएको उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

ठाणे जिल्लाको शाहपुर नजिक सरलांबेमा समृद्धि एक्सप्रेस हाईवेमा पुल निर्माणको क्रममा एक गर्डर मेसिन खस्दा उक्त दुर्घटना भएको हो।

पुल बनाउन तथा ठूला भवनको चौखटका लागि फालम वा स्टिलको बिम वा मिश्रित संरचनालाई गर्डर भनिन्छ। उक्त गर्डर राख्न प्रयोग गरिएको मेसिन खसेको भारतीय प्रहरीले अधिकारीले जनाएका छन् ।

उक्त हाईवेमा रातको समयमा निर्माण कार्य चलिरहेको थियो। भारी तौल भएका कारण गर्डर मेसिनलाई तत्काल हटाउन नसकिएको र उक्त भग्नावशेष भित्र केही मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

७ सय १ किलोमिटर लामो यो हाईवेले मुम्बई र नागपुरलाई जोड्छ। तीन चरणमा निर्माण भइरहेको उक्त हाईवेको तेस्रो चरणको काम हाल ठाणे जिल्लामा भइरहेको हो।

सम्बन्धित समाचार