कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त, भोलि शपथ
कोसी प्रदेशका नवनियुक्त मुख्यन्त्री उद्धव थापा पुनः नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापाले भोलि बुधबार बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
थापालाई प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन्।
यसअघि असार २१ गते नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए।
थापा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।