२०८३ बैशाख २२ गते , मंगलबार

मुख्यमन्त्री थापाद्वारा कृष्णप्रसाद र पुष्पलालको शालिकमा माल्यार्पण

sajilo news
झापा
२०८० श्रावण १८ गते , विहीबार
मुख्यमन्त्री थापाद्वारा कृष्णप्रसाद र पुष्पलालको शालिकमा माल्यार्पण

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण  गरे लगत्तै प्रजातान्त्रिक आन्दोलनका  धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको शालिकमा माल्यार्पण गरेका छन् ।

पुष्पलाल श्रेष्ठ कम्युनिस्ट पार्टीको सूत्रधार तथा  जन्मदाता हुन भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तिका लागि राणा विरुद्ध आन्दोलन गर्ने कमान्डर हुन् । कृष्णप्रसाद बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी पनि हुन् ।

बुधवार साँझ ५ बजे  प्रदेश प्रमुख कार्यालय विराटनगरमा शपथ ग्रहण कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको  मूर्तिमा फुलमाला लगाएर माल्यार्पण गरेका हुन् ।

कोशी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले  प्रजातान्त्रिक आन्दोलनका दुवै नेतालाई स्मरण गरेका हुन् । प्रजातन्त्र ल्याउन दुवैको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै थापाले भने, ‘हाम्रो लागि दुवै नेताप्रति उच्च  सम्मान र सद्भाव छ ।’

जुन पार्टीले प्रदेशको नेतृत्व लिन्छ त्यही पार्टीका सम्मानित नेताको मात्र स्मरण गर्दै माल्यार्पण  गर्ने  विगतको प्रचलनलाई  नवनियुक्त मुख्यमन्त्री थापाले क्रमभङ्ग गरेर सबै नेताको उच्च सम्मान गरेका  हुन् ।  थापाले माल्यार्पण सकेर मात्र मुख्यमन्त्रीको पदभार ग्रहण गरे र मन्त्रीपरिषद्को बैठक राखेका हुन् ।

  मुख्यमन्त्री थापासहित गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट   आर्थिक मामिला तथा योजना मन्त्री बनेका बाबुराम गौतम , काङ्ग्रेसबाट सिचाई उर्जामन्त्री बनेका प्रदीप सुनुवार र नेकपा एसबाट भौतिक पूर्वाधार मन्त्री बनेका कमल जवेगुले पनि दुवै नेताको मूर्तिमा  माल्यार्पण गरेका थिए ।

सम्बन्धित समाचार