२०८३ बैशाख २१ गते , सोमबार

भद्रपुरको संकट हरेश्वर विश्रान्ति घाटमा साताव्यापी श्रीमद् भागवत महापुराण हुने

sajilo news
झापा
२०८० श्रावण २२ गते , सोमबार
भद्रपुरको संकट हरेश्वर विश्रान्ति घाटमा साताव्यापी श्रीमद् भागवत महापुराण हुने

भद्रपुर । भद्रपुर नगरपालिका–७ स्थित संकट हरेश्वर विश्रान्ति घाटमा साताव्यापी श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । सम्पूर्ण दिवङ्गत पितृ एवम् जीवहरूको उद्धारका लागि आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ आयोजना हुन लागेको आइतबार पत्रकार सम्मेलन गरी पुराण आयोजक समितिले जानकारी गराएको हो । 

भद्रपुर–७ स्थित देउनियाँ किनारमा रहेको शंकर हरेश्वर विश्रान्ति घाटलाई थप व्यवस्थित गर्दै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक हरिप्रसाद निरौलाले जानकारी दिए ।  महायज्ञको मूल उद्देश्य सम्पूर्ण दिवङ्गत पितृ एवम् जीवहरूको मोक्ष भए पनि घाट वरपरको जग्गाको संरक्षण, सुन्दर र मनमोहक–मनोरम स्थल रहेको घाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नु समेत रहेको आयोजक समितिले जनाएको छ ।

केही वर्ष अघिदेखि नै महायज्ञ आयोजना गर्ने लक्ष्य राखिएको भए पनि सबैको सल्लाह र सुझावका आधारमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म पुराण आयोजना गर्ने मिति तय भएको महायज्ञ प्रचार–प्रचार उप समितिका संयोजक हरिप्रसाद कोइरालाले जानकारी दिए । 

महायज्ञलाई भव्यताका साथ सम्पन्न गर्न ३०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने २२१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । त्यस्तै, नौ वटा विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

महायज्ञ प्रचार–प्रचारका लागि हरिप्रसाद कोइरालाको संयोजकत्वमा ११ सदस्यीय प्रचार–प्रसार उप समिति गठन गरिएको छ । यस्तै, केदार पोखरेलको संयोजकत्वमा छ सदस्यीय पण्डाल, मण्डप निर्माण तथा पूर्वाधार उपसमिति, सरिता दाहालको संयोजकत्वमा १८ सदस्यीय पूजा प्रबन्ध उपसमिति, महतलाल राजवंशीको संयोजकत्वमा १५ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ ।

यसैगरी, दीपेन्द्र घिमिरेको संयोजकत्वमा २१ सदस्यीय सुरक्षा प्रबन्ध तथा स्वयंसेवक उपसमिति, कृष्ण खतिवडाको संयोजकत्वमा सात सदस्यीय सामग्री खरिद/सञ्चय उपसमिति, रेमनाथ चुँडालको संयोजकत्वमा १० सदस्यीय स्वागत–सम्मान उपसमिति, चन्द्रमाया गिरीको संयोजकत्वमा सात प्रसाद तयार/वितरण उपसमिति र हरिप्रसाद निरौलाको संयोजकत्वमा आठ सदस्यीय व्यासाचार्य गुरुजन व्यवस्थापन उपसमिति गठन गरिएको जनाइएको छ ।

महायज्ञमा प्राचीन हरिद्वार चतराधामबाट श्रीजगत गुरु बालसन्त आउनुहुने छ भने व्यासाचार्य कथा वाचकका रुपमा पं.श्री छन्दुराम भण्डारी रहनुहुनेछ । पं.श्री कमलनयन निरौलाले पाठपारायण गर्ने महायज्ञमा गणेश पूजन पं. श्री गोविन्द घिमिरे, रुद्राभिषेक, शिवास्थापन पं.श्री उत्तम नेपाल र द्वारपाल देवाश्रम गुरुकुल भद्रपुर रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

सम्बन्धित समाचार