२०८३ बैशाख २२ गते , मंगलबार

एमालेले झापामा चैत मसान्तभित्र जिल्लादेखि टोल अधिवेशन गर्ने

sajilo news
झापा
२०८० श्रावण २४ गते , बुधबार
एमालेले झापामा चैत मसान्तभित्र जिल्लादेखि टोल अधिवेशन गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्य योजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वार्ड कमिटी र टोल कमिटीका अधिवेशनहरू चैत्र मसान्तसम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाका सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

एमाले झापाले आफ्ना जनप्रतिनिधिहरूले गरेको कामको मूल्याङ्कन, सदस्यता नवीकरण, कमिटीहरूको अवस्था, पार्टीको कार्ययोजनाहरु बारे छलफल गर्दै सुझावहरू सङ्कलन पनि गरेको छ । एमालेको स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराई, पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीबाट क्षेत्रको जिम्मेवारी तोकिएका इन्चार्जहरू, पाँच वटै निर्वाचन क्षेत्रका संयोजकहरू र १५ वटै पालिकाका इन्चार्जहरूको समेत उपस्थिति रहेको उक्त बैठकले पार्टीको आगामी कार्य योजनामाथि छलफल गरेको थियो ।

बैठक सम्पन्न भए पश्चात् एक विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष दीपक कार्कीले १९ हजार ५ सय ६७ सदस्यहरूले सदस्यता नवीकरण गरेको जनाएका छन् । उनका अनुसार १५ वटा पालिकाका सबै वडाहरूका सबै टोलमा सक्रिय कमिटी रहेका  छन् । बैठकमा नेताहरूले एमाले झापालाई थप चुस्त र प्रभावकारी बनाउन केन्द्रीय र कोसी प्रदेश कमिटीका नेताहरूले सुझाव समेत राखेका थिए । बैठकमा झापाको राजनीतिक अवस्था, जनताका समस्याहरू, जनप्रतिनिधिहरूको काम, पार्टीको राजनीतिक, वैचारिक, साङ्गठनिक अवस्थाको विषयमा नेताहरूले धारणा एवम् सुझावहरू राखेका थिए ।

बैठकमा पार्टी स्थायी कमिटी हिक्मत कार्की, पोलिटब्युरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले समसामयिक राजनीतिक परिस्थिति, पार्टी केन्द्रीय कमिटीका फैसलाहरू र तत्काल गरिनु पर्ने पार्टीका कार्यभारहरूका विषयमा निर्देशनात्मक भनाइहरू राखेका थिए । 

 

सम्बन्धित समाचार