पहिला परिवर्तनका लागि लड्यौ, अब भ्रष्टाचारविरुद्ध लड्दैछौं : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध युद्ध सुरु गरेको बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका किराँतीले सरकारले अहिले चलाएको भ्रष्टाचारविरुद्धको कदम नरोकिने दाबी गरेका छन् । मन्त्री किराँतीले आफ्नो पार्टी र अहिलेको सरकारले जनभावना अनुसारको काम गरिरहेको बताएका छन् ।
“हिजो हामीले परिवर्तनका लागि लड्यौ अब भ्रष्टाचार विरुद्ध लड्छौँ,” उनले थपे। यो लडाइमा अवरोध गर्ने तत्त्वहरू सक्रिय भए पनि डगनमगाइ अघि बढ्ने उनको भनाइ छ। “हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको युद्धमा होमिसकेका छौँ”, उनले भने ।
यसैबीच विश्व आदिवासी दिवसको अवसरमा कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले हरेक अग्रगामी आन्दोलनमा आदिवासी जनजातिहरू अग्रणी भूमिकामा रहेको बताए । वि। स २००७ सालको आन्दोलनमा ब्रिटिस आर्मीबाट अवकाश पाएका आदिवासीहरू सहभागी भएको स्मरण गर्दै उहाँले हरेक आन्दोलनहरूमा उच्च योगदान रहेको उल्लेख गरे ।
पुर्खाले छाडेको ७ वटा मानव निर्मित सम्पदा बाहेक नेपालमा अन्य सम्पदाहरू अहिलेसम्म बन्न नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने बेला आएको उनले जनाए । पहिचान र संस्कृतिलाई जोगाउनका लागि ढिला गर्नु नहुने उनको भनाइ छ । “हामीले पूर्वको पहाडदेखि पश्चिमका पहाडहरूसम्म पहिचानमा आधारित सम्पदा निर्माण गर्न सक्छौँ”, उनले भने ।