कचनकवलस्थित भुतेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भीड
कचनकवल । दक्षिणी झापाको चर्चित धार्मिकस्थलको रुपमा विकसित हुँदै गएको कचनकवल गाउँपालिका- १ स्थित भुतेश्वर महादेव मन्दिरमा आज सोमवार भक्तजनहरुको भीड लागेको छ ।
साउनको अन्तिम सोमवार हरेक वर्ष त्यहाँ मेला लागेसँगै जल चढाउने भक्तजनहरुको भीड लाग्ने गरेको हो । २०१२ सालमा बैजनाथ राजवंशीले भुवनेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कट्ठा जग्गा दान दिएका थिए । २०५५ सालदेखि त्यस मन्दिरमा मन्दिर समितिले बोलबम शुरु गरेको हो । साउनको प्रत्येक सोमवार जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । भुवनेश्वर महादेव मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् । पहिला सँगै जोडिएको भुवनेश्वर बाबा र बोलहरिको मन्दिर मात्र रहेको थियो ।
तर, अहिले बद्रीनाथ ,गणेश , कार्तिक , हनुमान , पार्वती ,शिवशक्ति , कैलाश र गंगाको मन्दिर निर्माण गरिएको छ । त्यस्तै हवन कुण्ड , धर्मशाला , सत्सङ्ग भवन, प्रसाद वितरण गर्ने घर पनि बनाइएको छ । आफूले मागेको मनोकामना पूरा हुने आस्था र विश्वासका साथ भारतको विहार , बङ्गाल र नेपालको विराटनगरसम्मका भक्तजनहरू आउने गरेको आयोजक सोमवारे साउने बोलबम मेला समितिले जनाएको छ ।
अन्य धार्मिक स्थलहरुमा नगद र जिन्सी दान दिने गरिए पनि त्यस मन्दिरमा भाकल स्वरुप भक्तजनहरूले गोरु (बाछो) दान पनि दिने गरेको पाइएको छ । आफ्नो मनोकामना पूरा भएपछि त्यस शिवालय मन्दिरमा शिवको वाहन गोरु दान दिने गरेका हुन् । सोही अवसरमा गाउँपालिकाले आज कचनकवलमा स्थानीय बिदा दिएको छ ।