२०८३ बैशाख २१ गते , सोमबार

अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरूको घुइँचो

sajilo news
झापा
२०८० श्रावण ३० गते , मंगलबार
अर्जुनधारा जलेश्वरधाममा भक्तजनहरूको घुइँचो

आज साउन महिनाको अन्तिम सोमवार । विगतका वर्षभन्दा यस वर्ष पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वर धाममा भक्तालुहरूको बढी भीड लाग्यो ।

भारतसहित नेपालका विभिन्न ठाउँबाट दर्शन गर्न आउने भक्तालुहरूको सङ्ख्या उल्लेखनीय थियो । धाम सञ्चालक समितिले भक्तजनहरूको सहजताका लागि विभिन्न उपसमिति परिचालन गरी घुइँचोलाई व्यवस्थापन गरेको थियो । आजै राप्रपा झापाका कार्यकर्ताहरूले ‘नवीन राप्रपा आयो’ भन्दै हिन्दु राष्ट्रको मागसहित धाममा धार्मिक पदयात्रा गरेका छन् । उनीहरूले धाममा जलार्पण गर्दै ‘जय जय काली गोरखकाली हिन्दु राष्ट्र यसैपाली’ भन्दै नारासमेत लगाएका थिए । धार्मिक सहिष्णुता अपनाउँदै मुस्लिम समुदायका व्यक्तिहरू पनि पदयात्रामा सहभागी थिए ।

त्यस्तै श्री छठ युवा फ्रन्ट बिर्तामोडले अर्जुनधारा जलेश्वर धाममा निःशुल्क प्रसाद वितरण गरेको छ । साउन महिनाको अन्तिम सोमबार दर्शनार्थी भक्तजनहरूलाई निःशुल्क महाप्रसाद वितरण गरेको श्री छठ युवा फ्रन्ट बिर्तामोडका अध्यक्ष दीपक शाहले जानकारी दिए ।

केही वर्षदेखि साउन महिनाको सोमबार श्री छठ युवा फ्रन्टले सामाजिक कार्य गर्दै आएको पनि अध्यक्ष शाहले बताए । जलार्पण गर्न आएका करिब ३ हजार बढी भक्तजनहरूले फ्रन्टले वितरण गरेको हलुवा , खीर, तरकारीलगायतका प्रसाद ग्रहण गरेको कार्यक्रमका संयोजक अमर जित शाहले जानकारी दिए ।

सम्बन्धित समाचार